माधव नेपाल गद्दार हुन – अध्यक्ष ओली

भक्तपुर, असार ३०
निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनुभएको छ । सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएपछि बुधवार लावा लस्करसहित बालुवाटारबाट बालकोट आइपुगेका ओलीले नेपालकै कारण आफु सत्ताबाट बाहिरिनु परेको बताउँदैं उहाँलाई क्षमा दिन नसक्ने बताउनुभएको हो ।
ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छे भएको टिप्पणी समेत गर्नुभयो । ओलीले भन्नुभयो, ‘पार्टी समक्ष आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अरुलाई एकपटक पार्टीले मौका दिन सक्छ । तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीले स्वीकारेर भित्र्याउने कुनै पनि ठाउँ छैन । माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’
समर्थकहरुलाई आफ्नो घरको बारदलीबाट सम्बोधन गर्नुभएका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार जालझेल गरेर ढालेको र त्यसको नेतृत्व नेता नेपालले गरेको भन्दै कडा आलोचना गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।’ तर आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्लानी नभएको ओलीले बताएउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *