माटोको ढिस्कोले पुरिएर ताथलीमा एक कामदारको मृत्यु

भक्तपुर, फागुन २८
भक्तपुरको ताथलीमा जग्गा प्लटिङ गर्न खनेको खाल्डोमा पुरिएर मंगलवार एक कामदारको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको हलालगाउँमा अवैधरुपमा गरिएको जग्गा प्लटिङमा पर्खाल लगाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा मकवानपुरको भीमफेदी गाउँपालिका–६, उर्लाबारी घर भई हाल ताथली हलालगाउँ बस्ने १६ वर्षिय विकेश स्याङताङको मृत्यु भएको हो ।
ताथली ईको भिलेज रिसोर्ट नजिक गरिएको उक्त प्लटिङमा माटोको ढिस्कोले पुरिएरका स्याङताङलाई प्रहरी प्रभाग सुडालका प्रहरी वरिष्ठ नायव निरिक्षक नेतृत्वको टोलीले उद्धार गरी उपचारका लागि च्याम्हसिंहस्थित ख्वप अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा स्याङताङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव निरिक्षक बसन्त पाठकले बताउनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
ताथलीको उक्त प्लटिङको लागि स्विकृति नलिएको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीका वडा अध्यक्ष गणेश त्यातले बताउनुभयो । स्वीकृति नलिई केही दिनअघि राती डोजर चलाएर सम्याइएको जग्गामा पर्खाल लगाउन खनेको खाल्डोमा कामदार पुरिएको वडाअध्यक्ष त्यातले बताउनुभयो ।
यसअघि पनि ताथलीको नालाछापमा २०७८ चैत्र १८ मा जग्गा प्लटिङ गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *