माझखण्डका बासिन्दालाई ताइवानको झेन कुओ विहारको सहयोग वितरण

सुनीता तुलाधर, ललितपुर, मंसिर २२ .
ललितपुरको बागमती गाउँपालिकामा अवस्थित प्राचिन बौद्ध विहार माझखण्ड धातुचैत्य विहारमा बुधवार स्थानीय बासिन्दाहरुलाई ताइवानको झेन कुओ विहारका भिक्षु कुआङ्ग सिङ्गले पठाउनु भएको खाद्य सहयोग वितरण गरिएको छ ।
विश्वशान्ति विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा पुगेको विश्व शान्ति विहारका समूहले स्थानीय ११४ घरपरिवारलाई प्रति घर २५ किलोको १ बोरा चामल, २ लिटर तेल र २ किलो मास दाल सहयोग वितरण गरेको हो ।
सो अवसरमा भिक्षु बोधिज्ञान महास्थविरले ताइवानका भिक्षु कुओले विभिन्न स्थानका मानिसहरुलाई अन्न दान दिने क्रममा माझखण्डका बासिन्दालाई पनि अन्न दान पठाउनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार भिक्षु निग्रोध महास्थविर र विकास महर्जनको पहलमा ताइवानबाट प्राप्त उक्त सहयोग माझखण्डमा वितरण गरिएको हो ।
कार्यक्रममा अन्न दानको विषयमा धर्मदेशना दिनुहुँदै भिक्षु वजिरसिरिले ‘संसारको सबैभन्दा ठूलो दुःख, ठूलो रोग भनेको भोको पेट हुनु हो’ भन्नुभयो । पेट भोको भएमा आनन्द नआउने र भोजनले मात्रै शरीरमा शक्ति आउने उहाँले बताउनुभयो ।


(तस्वीरहरू – भिक्षु उत्तमाे)

‘सब्बे सत्ता आहारा ठितिका’ अर्थात ‘सबै प्राणीहरु आहार, खानाका कारण बाँचिरहेका छन ।’ त्यसैले स्वस्थ खानाले शरीर स्वस्थ हुनुको साथै कुशल कर्महरु गर्नका लागि मद्दत पुग्दछ भने अस्वस्थ खानाले शरीर मात्र नभई दिमागलाई पनि हानी नोक्सानी पुग्छ,’ उहाँले भन्नुभयो ।
उहाँले शरीरलाई मात्र राम्रा खाना नभई मनलाई समेत राम्रा खाना दिनुपर्ने कुरा उपदेश दिनुभयो । यसको लागि विहारमा गएर राम्रा शिक्षा दिनुपर्ने बताउँदैं उहाँले उच्चकर्म गरी धर्मकर्म गर्नपनि राम्रो खाना खानुपर्ने र यही कारण ताइवानका भन्तेले अन्न सहयोग पठाउनुभएको जानकारी दिनुभयो ।
कार्यक्रममा ताइवानको नेपाली प्रतिनिधि विकास महर्जन, विहारका अध्यक्ष चन्द्रबहादुर स्याङ्गताङ्ग एवं बागमती गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष नवराज तिमिल्सिना लगायतले बुद्ध धर्म र दानको महिमाबारे चर्चा गर्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *