माघ १ गते भक्तपुरमा सम्यक महादान पर्व मनाईने

भक्तपुर, पुस २७
माघे संक्रान्तिको अवसरमा मंगलवार भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सम्यक महादान पर्व मनाउने भएका छन । सम्यक महादान व्यवस्थापन सहयोग समितिले शनिवार पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष झैं यसवर्ष पनि माघ १ गते सम्यक महादान पर्व मनाउने र त्यसको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सम्यक महादान बौद्ध धर्मालम्बीहरुले मनाउने विशेष पर्व मध्ये एक हो । यो पर्व काठमाण्डौंको स्वयम्भुमा १२ वर्षमा एक पटक र ललितपुरको नाग बहालमा प्रत्येक ५÷५ वर्षमा मनाउने गर्दछ । भक्तपुरमा भने यो पर्व प्रत्येक वर्ष माघ १ गते मनाईंदैं आएको छ ।
सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल धर्मदीप विहार गोल्मढी, जयकिर्ति महाविहार (थथुवहि) इटाछें र बौद्ध समकृत विहार भार्वाचो गरी पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्ति महाविहार (थिमि)का उपाध्याय गुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुर जयकिर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात दुधपाटीस्थित नःपुखु परिसरमा जम्मा गरिन्छ ।
सम्यक महादानका क्रममा चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको छ ।
यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यससँगै लामवद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।
सम्यक महादान पर्वमा दान गर्ने वस्तुहरुमा गेडागुडीको परिकारहरुमा गेडा मास, मासको दाल, रातो मास, गेडा मुगी, केराउ, सेतो भटमास, मस्याङ, बोडी, गहत दान गरिन्छ । सागसब्जीहरुमा बेठी, मेठी, लत्तेको साग, पिँडालु, लप्सी, रायोको साग, मटरकोसालगायतका तरकारी दान गरिन्छ ।
यसैगरी मिठाईमा लड्डु, पुरी, घिउचाकु, पंच पकुवान, चटामरी, मासको बारा, फुलफुलमा अमला, देलचा, बल, सतबेल, चयपि, खयपि र उखु दान गरिन्छ भने दुध, दही र भाइमसला पनि दान गरिन्छ ।
प्रत्येक वर्ष सम्यक संघ भोजन दान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछें खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको समितिका सचिव राजु मान बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष पर्व सम्पन्न गर्ने पालो सप्त चन्द्र बज्राचार्य लगायत उहाँको परिवारको रहेको छ । पर्वको तयारीका लागि सप्त चन्द्रको परिवार जयकीर्ति महाविहारमा हप्ता दिन अघिदेखि नै बसोबास गरी विशेष प्रकारको पुरी, लड्डु तयार गर्ने लगायत अन्य चाँजोपाँजो मिलाउने कार्यमा व्यस्त रहको सचिव बज्राचार्यले बताउनुभयो ।
भक्तपुरमा सम्यक महादान पर्व नेपाल संवत ७८७ मा शुरु भएको ईतिहास पाईन्छ । भक्तपुर दरवार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित ईतिहास रहेको छ ।
उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाट नै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको ईतिहास पनि रहेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *