मल्लकालिन परिवारलाई इगिंत गर्ने नवदुर्गाको ङालाकेगु जात्रा

लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेगु(माछामार्ने)जात्रा मल्लकालिन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालिन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी कामगर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रितिरिवाज, भेषभुषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ ।
तान्त्रिक विधिको माध्यमबाट मानव शरीरमा देवत्व प्रतिष्ठापित गरी बोलेर भन्दा निश्चित भाव संकेतद्धारा संवाद प्रस्तुत गरी मनाइने जात्राले मल्लकालिन समयको संयुक्त परिवारलाई इंगित गर्ने नाचको रुपमा ङालाकेगु जात्रालाई लिन मिल्ने ईतिहास एवम् संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । “नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत नाचमा प्रस्तुत गरिएको छ । सबै देवगणलाई देवगृहमा भित्र्याउने, निस्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखी मृत्युसम्मको संस्कारमा नकी(घरमुली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो । उहाँले भन्नुभयो,” “जात्राले मल्लकालिन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मुल सन्देश जात्रामा देखाएको छ ।”
नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः(महालक्ष्मी)को प्रतिक लिइन्छ । नाचमा भैरव, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, ईन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृंगी) गरी १३ मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । त्यसाहेक खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विषेश खालको महापात्र(खप्पर)लाई त्रिपुरासुन्दरीको प्रतिक मानिन्छ ।

नाचमा मुबाहा(सुँगुरबली)को रगतमा चिउरा मिसाएर बनाएको(धौबजी)लाई प्रसादको रुपमा देवगणले ग्रहण गर्छ । यो विधि भैरव महाकालीले गर्छ । जात्रामा उनीहरुलाई गणका आमाबुबाका रुपमा लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा महेश्वरीले लिइन्दैन । महेश्वरीलाई वर्खी वाँडेकी देवीका रुपमा पुजिन्छ ।
माघे संक्रान्तिको भोलीपल्ट सुजमारीबाट शुरुगर्ने जात्रा नगरका २१ स्थान लगायत काठमाडौंको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा प्रदर्शन गरिन्छ । जात्रा शुरु गर्नु एकदिन अगाडि वापी पाछाकिगु जात्रा भनी सुजमारी टोल परिक्रमा गरेर राती खःप्याखं प्रदर्शन गरी मुःवाहा( जात्रा गर्ने परम्परा छ ।
जात्रामा प्रर्दशन गर्ने नाचहरु
भैरबनाथको नाचबाट जात्रा शुरु गरिन्छ । गीतको बोल, बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, शाकाहारी, मासांहारी जस्ता विषयवस्तुहरुमा नाच प्रर्दशन गरिन्छ । भैरबको बाहुलीबाट पूजा गर्ने, बलिदिने, समयबजीका साथ मुबाहालाई लखेटेर मुबाहा ल्यगु(लखटने) नाच शुरु गरिन्छ । नाच शुरु गर्न मुबाहा अगाडि खुल्ला ठाउँमा छोडि, लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी बलि दिन्छ । त्यसपछि क्रमिकरुपमा महेश्वरीले बाहेक सबै गणले रगत खाएपछि भैरब, काली र गणेशको नाच प्रर्दशन गरिन्छ ।
धान रोपाई नाच
ब्रम्हायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाई नाच देखाइन्छ । सृष्टीकर्ताको रुपमा रहेका बम्हायणीबाट नाचबाट शुरु गरिन्छ । कुमारीले परिवारमा चेलीवेटीले गरिने व्यवहारको नाच प्रर्दशन गर्छ । सरसफाइ गर्ने, श्रृंगारहरु गर्ने, खाना पकाउने र बाँडेर खुवाउने कार्य कुमारीले देखाउँछ । नाचमा अरुलाई बाँडेर खुशी हुने कुमारीलाई भैरबले खाली पात्र दियो भनी चित्त दुःखाई कुमारी तुलेगु (कुमारी विलाप गर्ने) नाच प्रर्दशन गरिन्छ । नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीको रुपमा समेत पुजा गरिन्छ ।
त्यसपछि भद्रकालीले कृषि कार्यको प्रतिकको नाच देखाइन्छ । कुनै प्राणी बाच्नको लागि खानपान आवश्यक पर्छ भन्ने भाव नाचमा प्रस्तुत गरिन्छ । गणमा महेश्वरीलाई शाकाहारी देवीको रुपमा पुजिन्छ । शान्तिको प्रतिकका स्वरुप यिनलाई गंगाजस्तो पवित्र मानी छुट्टै पहिचान भएकी देवीको रुपमा पुजि नाच देखाइन्छ ।
बाराही नाच
बाराहीले घरको महिलाको नाच प्रर्दशन गरिन्छ । बेलबिवाह, सूर्यविवाह, बुहारीमा हुनुपर्ने व्यवाहारिक ज्ञान, घरपरिवारमा नारीले निभाउनुपर्ने व्यवहार, आदर, सम्मान, शिष्टता लगायत नाच प्रर्दशन गरिन्छ ।
सिम्हदुम्हको ङालाकेगु जात्रा
जात्रामा सिम्हदुम्हलाई भिमसेन र द्रौपतिका रुपमा पुजिन्छ । दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भिमसेनको भूमिका निभाउँछ भने सिम्हले द्रौपतिको भूमिका निभाउँछ । जात्रामा सिम्हदुम्ह दुवैले ङालाकगु गर्नेे टोलमा पैसा माग्न जान्छ । पैसा माग्ने कार्य सकेपछि श्रीमान श्रीमती विचहुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार युक्त सिम्हदुम्हको ङालाकेगु जात्रामा गरिन्छ । जात्रा गर्दा स्थानीय टोल टोलमा तीन पटकसम्म ङालाकेगु गर्छ ।
महाकाली नाच
सिम्हदुम्हको ङालाकेगु जात्रापछि युद्धको भूमिका, नारी र तीन नेत्रको क्रोधयुक्त नाच महाकालीले देखाइन्छ । गणमा महाकालीलाई सबैभन्दा क्रोधी देवीको रुपमा प्रस्तुत गरिन्छ । नाचमा देवीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको प्रर्दशन गरिन्छ । नाचमा आफूले बली नपाउँदा रिसाई फर्कने क्रोधी देवीको रुपमा देखाइन्छ ।

श्वेतभैरबको खास्टो लुट्ने फिर्ता गर्ने नाच
यो नाच महिषासुरको वध गरेपछि रगताम्य महाकालीले वस्त्र सफागरी रहेको बेला श्वेतभैरबले सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको देखाइन्छ । आफूलाई लुकीछिपी हेरेर जिस्काए भन्दै क्रोधित महाकालीले श्वेतभैरबसँग खास्टो लुटेर लिने नाच देखाइन्छ । त्यसपछि खास्टो फर्काउन श्वेतभैरबले महाकालीलाई मायाँले फकाए पनि मान्दैन ।
जति मायाँले फकाए नि महाकाली नमानेपछि स्वेतभैरबले बाटोमा पैसा मागेर महाकालीलाई चढाएर मनाउन खोज्छ । क्रोधित महाकालीले भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । श्वेतभैरबले त्यही पैसाले भाले किनेर महाकालीलाई चढाउँछ । महाकालीले खुशी भई मुखबाट भालेको टाउको छुट्याई बली लिन्छ र भैरबलाई खास्तो फिर्ता गर्छ । यस कथालाई जीवन्त दिँदै नाच प्रर्दशन गरिन्छ ।
श्वेतभैरबको ङालाकेगु जात्रा
खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरब र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरबले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरबको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरबलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ ।
श्वेतभैरबको पेटदुख्ने नाच
माछा मार्ने जात्रा सकेपछि श्वेतभैरबलाई पेट दुखेर छटपतिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरब र इन्द्रायणीको नाच प्रर्दशन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैले लुगा धुने नाच देखाइन्छ ।
समापन नाच
समापन नाच राती देखाइन्छ । यस नाचमा श्वेतभैरबको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामुहिक नाच प्रर्दशन गरिन्छ । त्यसपछि स्थानीयबासीका हर्ष उल्लासका साथ बाजागाजा अगाडि राखेर जय जयकारकासाथ धुपअगरबत्ति बाली देवगृह पु¥याई जात्रा सम्पन्न गर्छ ।
प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखदक्षण, उत्साह उमंग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइहरुको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि शुरुभई सिथी नखाःमा समापन हुन्छ । घण्टाकर्णसँगै नवदुर्गा उत्पति भई सिन्हाज्या शुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरुहुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट गस्रित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।
नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्ती अनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रम्हायणी जोल भन्ने जंगल थियो । सो जंगलको खोँचमा एउटा मन्दिर छ । उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जंगलको बाटोभई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगवली लिने कारण जनजीवन भयावह अवस्था आयो । एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगवली लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपुजन गर्न पाउँभनी विन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदायान पुजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ । आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पुजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगवली लिन थाले । भोगवलीकै लागि नवदुर्गाले मनुष्यको रुप धारण गरी नालाका मानिसहरुलाई जंगलमा लाने र भोगवली लिनथाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।


एकदिन नालामा नवदुर्गाले भोगवली लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछ । कारणबस ब्राहमण आचाजुको घरमा पुगेछ । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजनीति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्धारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो वासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले । एकदिन ब्राम्हण स्नान गर्न गएको बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चालपाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुगुरको भोगवली लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुन र्फकन आग्रह गर्छ । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनु पर्छ भनी सबै गण समावेश भएको गणखा(बनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किवदन्ती रहेको छ । किवदन्ती अनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टिका) धारण गरेपछि देव प्रतिनीधि हुन पाउने छ । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुगुरलाई लिएको मानिन्छ ।
८महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछे स्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छु बाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाकी रहेको छ । खाली पेटमा जाँड र रक्सीको भरमा नाङगो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालाना गर्दै जात्रालाई जीवन्त राख्दै आएका बनमाला सुमुदायको संरक्षण र सम्बद्र्धका लागि गुठि संस्थान, भक्तपुर नगरपालिका लगायत राज्यले विषेश बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पुर्व सचिव रत्नमान बनमालाले भन्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *