मध्यपुर थिमि नगरव्यापी विद्यालय स्तरिय फुटबल प्रतियोगितामा ग्लाडस्टोन विजयी

भक्तपुर, जेठ २८
छैंटौं मध्यपुर थिमि नगरव्यापी विद्यालय स्तरिय छात्र फुटबल प्रतियोगितामा ग्लाडस्टोन एकेडेमीले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगिताको आइतवार सम्पन्न उद्घाटन खेलमा ग्लाडस्टोनले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदैं नवरत्न ईङ्गलिस स्कुललाई ४–१ गोल अन्तरले पराजित गरी विजयी शुरुवात गरेको हो ।
खेलमा अग्रता भने नवरत्नले लिएको थियो । नवरत्नका लागि खेलको २४ औं मिनेटमा बिशाल श्रीष मगरले गोल गर्दै अग्रता दिलाएका थिए तर नवरत्नको खुसी धेरै बेर टिक्न सकेन । खेलको २६ औं मिनेटमा सुहन कालुले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ३५ औं मिनेटमा संयम कालुले गोल गर्दै ग्लाडस्टोनलाई पहिलो हापमा २–१ को अग्रता दिलाए ।


ग्लाडस्टोनले दोस्रो हापमा दुई गोल थप्यो । ग्लाडस्टोनका लागि दोस्रो हापको छैंटौं मिनेटमा रकिव केसीले गोल गर्दै टोलीलाई ३–१ ले अग्रता दिलाए । दोस्रो हापको ३३ औं मिनेटमा सम्राट भण्डारीले गोल गर्दै ग्लाडस्टोनको जित पक्का गरे ।
प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुल, ग्लाडस्टोन, भक्तपुर स्कुल, नालन्ड विद्या मन्दिर, आदर्श मावि सानोथिमि, भक्तपुर निष्ट, जनप्रेमी वल्र्ड स्कुल, अरविट स्कुल, एडभान्स एकेडेमी, हिमचुली एकेडेमी, इमानुयल स्कुल, जेनिथ एकेडेमी, आदर्श मावि लाय्कु, सिभिएम, गणेश मावि र विनायक ईङ्गलिस स्कुल गरी नगरका १६ विद्यालयको सहभागिता रहेको छ । नकआउटका आधारमा खेलाईने प्रतियोगिताको फाइनल असार ४ गते हुनेछ ।


यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगर खेलकुद विकास समिति गठन गरी खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न खेलका प्रतियोगिताहरु नियमित सञ्चालन गर्ने व्यवस्था गरिने जानकारी दिए ।
उनले यसवर्ष नगरपालिका व्यापी वडा लिग फुटबललाई थप व्यवस्थित गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाउँदैं विद्यालय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन, विद्यार्थीमा भएका खेल क्षमताको प्रस्फुटन हुने मौका प्राप्त गर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा मध्यपुर थिमि वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले विद्यालयले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा जोड दिँदैं विद्यार्थीमा भएको प्रतिभा पहिचान गर्नुपर्नेमा जोड दिए ।
एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंले कोरोना महामारीका कारण रोकिएको ग्रासरुट फुटबल, विद्यालयस्तरिय फुटबल प्रतियोगितालाई पुनः नियमित सञ्चालन गर्ने उद्देश्यले शुरु गरिएको जानकारी दिँदैं एशोसियसनले खेलाडी उत्पादनमा जोड दिएको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *