मध्यपुर थिमि नगरपालिका वडा लिगको उपाधी वडा नं. ९ ले जित्यो

भक्तपुर, कार्तिक ७
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ ले जितेको छ । सानो थिमि मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा वडा नं. १ वडा नं. २ सँग पराजित भएपछि वडा नं. ९ ले उपाधी जितेको हो । यसअघि लिगको ३५ औं खेलमा वडा नं. ९ वडा नं. ८ लाई १–० ले पराजित गरी लिगको शिर्ष स्थानमा उक्लेको थियो ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजनमा सम्पन्न अन्तिम खेलमा लिग उपाधीका लागि वडा नं. १ लाई जित्नै पर्ने अवस्था थियो भने वडा नं. २ ले जिते लिगको तेस्रो स्थानमा उक्लने अवसर थियो । निक्कै रोमाञ्चक र प्रतिष्पर्धात्मक खेलको ९१ औं मिनेटमा वडा नं. २ गोल गर्दै वडा नं. १ लाई पराजित गरी लिगको तेस्रो स्थानमा उक्लन सफल भयो ।
उपाधीसँगै वडा नं. ९ ले नगद २ लाख ५० हजार रुपैंया पुरस्कार पाए । दोस्रो भएको वडा नं. १ ले एक लाख ५० हजार र तेस्रो स्थानको वडा नं. २ ले ६० हजार नगर पुरस्कार पाए ।


लिगको सर्वोत्कृष्ट खेलाडी वडा नं. ९ का यमन राजबहाक घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । लिगको उत्कृष्ट रक्षक वडा नं. १ का प्रसिव खड्का, उत्कृष्ट मिडफिल्डर वडा नं. १ का राहुद खड्का, उत्कृष्ट फरवार्ड वडा नं. ५ का सुसन श्रेष्ठ र उत्कृष्ट गोलकिपर वडा नं. ८ का पुजन होना घोषित भए । प्रतियोगिताको अनुशासित टोली वडा नं. ६ घोषित भए । उत्कृष्ट सबैले जनही १०÷१० हजार नगद पुरस्कार पाए ।


लिग विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मध्यपुर युथ एशोसियसनमा उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक अष्ट कवे, मध्यपुर थिमि नगरपालिकाका पुर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, पुर्व उपप्रमुख अञ्जनादेवी मधिकर्मी, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा, वडाअध्यक्षहरुलगायतले वितरण गरेका थिए ।


समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले लिगले खेलाडीमा उत्साह थपेको र मध्यपुरमा दुई दशकपछि फुटबलको रौनक फर्किएको बताए । उनले फुटबलसँगै मध्यपुर थिमिका खेलाडीको प्रतिभा अनुसार अन्य खेलको विकासका लागि पनि प्रतियोगिताहरु निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले नगरपालिकाले खेलको पुर्वाधारको पनि विकास गर्दै खेलाडीहरुलाई खेल्ने वातावरण निर्माणमा नगरपालिका अग्रसर हुने बताए ।


मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिता सफल हुनुमा दर्शकको समेत ठूलो सहयोग रहेको बताउँदैं प्रत्येक खेलमा हजारौंको संख्यामा उपस्थित दर्शकहरुले समेत स्वयम् सेवकको भूमिका निर्वाह गरी प्रतियोगिता सफल बनाएको बताए । उनले मैदानको स्त्तोरन्नती गरी प्याराफिट बनाउन पाए राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न सकिने बताए ।
मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक अष्ट कवेले मध्यपुर थिमि फुटबलको उर्वरभुमी भएको बताउँदैं प्रतियोगिताले मध्यपुर थिमिमा खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


सो अवसरमा मध्यपुर थिमि नगरपालिकाले हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, जिल्ला व्यापी व्याटमिन्टन प्रतियोगिता र पुरुष तथा महिला राष्ट्रिय भारात्तोलन प्रतियोगितामा विभिन्न पदक ल्याउन सफल नगरका खेलाडीहरुलाई सम्मान गरिएको थियो । साथै सबै प्रकारको फुटबल खेलबाट सन्यास घोषणा गरेका मध्यपुर थिमिमा पुर्व राष्ट्रिय खेलाडी रमेश सिन्केमनलाई व्लेजर लगाई सम्मान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *