मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने

भक्तपुर, पुस २९
मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा जग्गा विकास योजना सञ्चालन गरी बाँकी क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने निर्णय गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाले वि. सं. २०५७ सालमा सुरक्षित क्षेत्र घोषणा गरी नगरका विभिन्न क्षेत्रमा घर निर्माण रोक्का राखेको थियो । नगरसभाको ११ औं अधिवेशनले ती स्थानमा बस्ती विकास योजना सञ्चालन गरी घर निर्माण फुकुवा गर्ने निर्णय गरेको हो ।


नगरपालिकाले रोक्का क्षेत्रमा बस्ती विकास आयोजना सञ्चालन गर्न विज्ञहरुको टोलीलाई सम्भाव्यता अध्ययन गराएको थियो । उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन र नगरपालिकाबाट गठित प्राविधिक समितिबाट सम्भाव्यता देखिएका काँडाडोल, बुढाथोकी गाउँ, कोलाफाँट, गाँखु, कुण्डोल, विसन्तकी, सिद्धिगणेश, राधेराधे क्षेत्रमा तत्काल बस्ती विकास योजना सञ्चालन गर्दै जाने र सम्भाव्यता नदेखिएका क्षेत्रमा प्रतिवेदनको आधारमा नक्सा पास फुकुवा गरी प्रचलित कानून बमोजिम त्यसको नियमित र अभिलेखिकरण गर्ने निर्णय गरेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
नगरसभाले मध्यपुर थिमि नगरपालिकाको शिक्षा ऐन २०७९ को दोस्रो संशोधन विधेयक र मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन २०७९ को पहिलो संशोधन विधेयक सर्वसम्मतले पारित गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


यस्तै नगरसभाले नगरपालिकाको प्रस्तावित प्रशासकीय भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी तत्काल टेण्डर प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो ।
नगरसभाले उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु आवश्यकता र औचित्यका आधारमा संशोधन गर्ने प्रस्ताव र आगामी तीन आर्थिक वर्षको राजश्व आय प्रक्षेपण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको आचार्यले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *