मध्यपुर थिमिमा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु

भक्तपुर बैशाख १
मध्यपुर थिमि नगरपालिकामा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु भएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति मध्यपुर थिमिको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्षको अवसर पारेर स्थानीय मौलिक नामको नामपाटी राख्न शुरु गरेको हो ।
वडा नं. ४ को बालकुमारी परिसरमा मौलिक नामपाटी राख्ने कार्यको शुभारम्भ गर्दै नगरप्रमुख श्रेष्ठले थिमिको बिस्का जात्रामा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी अहिले नगरको पुरानो ऐतिहासिक बस्तीबाट टोलबस्तीको मौलिक नामपाटी राख्ने कार्य शुरु गरिएको जानकारी दिनुभयो ।


उहाँले मध्यपुर थिमिको पर्यटन उद्योगको प्रवद्र्धनमा समेत यसले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मौलिक नामको पहिचानले उक्त टोलबस्तीको ऐतिहासिक महत्व र पहिचान समेत स्थापित हुने बताउनुभयो ।
नामपाटीमा रञ्जना लिपी, देवनागरिक र अंग्रेजी भाषामा टोलबस्तीको नाम लेखिएको छ । यसले नेवार, गैर नेवार र विदेशीहरुले समेत सजिलै टोलबस्तीको नाम थाहा पाउन सकिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
समितिले ऐतिहासिक प्रमाण र स्थानीय बोलीचालीको आधारमा नगरका टोलबस्तीको मौलिक नामको पहिचान गरेको थियो । टोल बस्तीहरुमा स्थानीय बुद्धिजिवि, विज्ञ र ज्येष्ठ नागरिकहरुसँग समेत छलफल गरी उनीहरुको सल्लाह र सुझावलाई समेत समेटेर समितिले मौलिक नामलाई अन्तिम रुप दिएर अहिले नामपाटी राख्ने चरणमा पुगेको समितिका संयोजक ईं राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *