मध्यपुर थिमिमा आजबाट दुई दिन ‘एकोज इन भ्याली’ संगीत महोत्सव हुँदैं

नविना खर्बुजा श्रेष्ठ÷लक्ष्मी गारु, भक्तपुर, फागुन २३
ऐतिहासिक नगर मध्यपुर थिमिमा आज (शुक्रबार) र भोली (शनिबार) स्थानिय एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरूको सांगितिक प्रस्तुती सहितको संगीत महोत्सव ‘एकोज इन द भ्याली’ हुँदैछ ।
मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा एकोज इन द भ्याली नामक संस्थाले सो संगीत महोत्सव आयोजना गर्न लागेको हो ।
यस पटकको एकोज इन द भ्याली संगीत महोत्सवमा मध्यपुर थिमिको पुरानो क्षेत्र बालकुमारी, निगुपुखु, दिगुदबु, इनालाछी फल्चा, भुलाख्यो, फोसि फल्चा, चाक्ला फल्चा, अखाछें, लायकू लगायतका ठाउँहरुमा स्थानीय एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुति हुनेछ ।


एकोजमा थिमिको मौलिक बाजागाजा, श्री राज गणेश धिमे खलः, शिवा सायमी भजन खलः, दाफा भजनको प्रस्तुती हुनेछ । संगितको साथै स्थानीय मौलिक परिकार र विभिन्न प्रकारका व्यापारिक स्टलहरु पनि रहने आयोजक एकोज इन द भ्यालीका कार्यक्रम संयोजक स्मारिका फुँयालले जानकारी दिनुभयो ।
दुई दिने महोत्सव अन्तर्गत पहिलो दिन फागुन २३ गते शुक्रबार दिउँसो ३ः३० बजे भुलाख्यो दबुमा कबिन्द्रपुर एण्ड फ्रेण्ड्सको प्रस्तुतिबाट एकोज शुरु हुनेछ । त्यसपछि थिमि दफा भजन खलः, कपिलवस्तुको उजला सहनी र रमा शंकर रे, श्रुति व्यान्ड, नेपाल टिबेटन ल्हामु असोसिएसन, ओएमजी स्पार्कको प्रस्तुती हुने पुmँयालले बताउनुभयो । उहाँका अनुसार साँझ राष्ट्रिय कलाकार तथा वरिष्ठ गायिका ज्ञानु राणा र कुटुम्ब व्यान्डको प्रस्तुती हुनेछ । यस्तै दथुदबुमा नेवा भोयः (नेवारी भोज)को कार्यक्रम रहने छ ।


यसैगरी दोस्रो दिन फागुन २४ गते शनिवार बिहानदेखी दिनभरी सांगितिक प्रस्तुतिहरु हुनेछन् । एकोजमा मध्यपुर थिमिको सिवाः सायमी खलःको नौ बाजा, शाही खड्गी समाज, सिद्धिगणेश दाफा न्हु धिमे खलः, श्री राज गणेश धिमे खलःको प्रस्तुती हुनेछ ।
यस्तै कविन्द्र एण्ड फ्रेण्ड्स, जिजिविशा, कञ्चनपुरको सङ्गिता शाह देउडा समूह, अर्जेन्टिनाका लाउरा क्यटालिन, ग्यान क्वायर, पोखराका अम्बिका देवि भण्डारी र हाम्रो सपनाको नेपाल नौमती बाजा समूह, बाखा ब्यान्ड, फ्रान्सका भिन्सेन्ट मुन, द फ्लाईङ स्पिरिट्स, केलिआइडोस्कोप यु केबाट एलना मिडिलटन, क्याटलिन लियाङ म्याकइभोय्, चन्द्रेशा पान्डे र सुश्कियना गुरुङलगायतका साथै स्थानीय कलाकारहरुद्वारा सांगितिक प्रस्तुति दिनु हुने फुँयालले जानकारी दिनुभयो ।
यस पटकको एकोजमा थिमि र बालकुमारी मन्दिर सम्बन्धी पौराणिक बाखं (कथा) पनि सुन्न पाईने उहाँले बताउनुभयो । त्यसका साथै बालबालिकाहरुको लागि चित्रकला, क्यालिग्राफी र लिम्बू समुदायको सिरिजंगा लिपीमा लेख्ने, नक्षत्र अवलोकन, चौतारी नाटक, कविता वाचन, छलफल लगायत अन्य विविध गतिविधि पनि रहेको छ ।


मध्यपुर थिमि नगरपालिकाको आयोजनामा गत पौष १२, १३ र १४ गते सम्पन्न ‘मध्यपुर महोत्सव–२०८१’ पछिको यो अर्को ठूलो महोत्सव हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । संगीत महोत्सवले थिमिको पर्यटन विकासमा थप टेवा मिल्ने उल्लेख गर्दै थिमिको मुर्त अमुर्त सम्पदा स्थलहरुको अवलोकनका लागि ईच्छुकहरुलाई स्थानीय विज्ञद्वारा हेरिटेज टुरको समेत व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
मध्यपुर थिमिमा पहिलो पटक हुन लागेको एकोज इन द भ्याली संगीत महोत्सवले यहाँको परम्परागत र मौलिक दाफा भजन र सम्पदा स्थानको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसार हुनुका साथै आन्तरिक बाह्य पयर्टन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *