भुतप्रेत भगाउन मध्यपुर थिमिमा रातभर जाग्दैछ देवी देवता

लक्ष्मी गारु, मध्यपुर थिमि, भदौ ४
गाईजात्राको भोलीपल्ट अर्थात बुधवार रातीदेखी चार रात मध्यपुर थिमिमा विभिन्न देवी देवता जाग्ने भएको छ । मध्यपुर थिमि क्षेत्रको भूतप्रेत, पिचासलगायत दानवहरुलाई भगाउन भैरव, महाकाली, निलबाराही लगायतका देवी देवता चार रात जाग्न लागेको हो ।
मल्लकालिन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिचास, डाकिनी लगायत दानवरुपी आत्माले सा¥है दुःख कष्ट दिन थाले । किसानहरु खेतमा जान नसक्ने भए । व्यापारीहरु सामान खरिद गर्न अन्य शहर जान नसक्ने भए । राज्यमा ठूलो आतंक मच्चियो । जताततै हाहाकार मच्चिन थालेपछि तत्कालिन दरवारमा सभा बस्यो र यसको समाधानको उपाय खोज्न थालियो ।
यसैक्रममा त्यसबेलामा नामुद शास्त्रज्ञ, तान्त्रिक र विद्धान गुरुहरुले तान्त्रिक विधिद्धारा मानिसमा विभिन्न देवीदेवताहरु जगाएर रातभर नचाउन थाल्यो भने भुतप्रेत, पिचास, डाकिनीलगायत प्रेतआत्माहरु भाग्ने जुक्ति निकाले ।
सो अनुसार गाईजात्राको भोलिपल्टदेखि चार रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मध्यपुर थिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवम् थिमि भैलः नाचको विकास भएको किंवदन्ती रहेको छ ।
यसवर्ष थिमिमा ताहाननीबाट थिमि भैलः (थिमि भैरव) नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच प्रदर्शन हुँदैछ । लाय्कू भैल र महाकाली नाच नियमित नभएपनि बोडेको निलबाराही नाच मल्लकालदेखी निरन्तर सञ्चालन हुँदैं आएको छ ।
थिमिको थिमि भैलः प्याखँ
करिव दुई दशकपछि मध्यपुर थिमि–५, ताहननीबाट यसवर्ष थिमि भैलः प्याखँ प्रदर्शन हुने भएको छ ।
थिमिको भैलः प्याखँको परम्परा अनुसार मध्यपुर थिमि क्षेत्रमा दुई वटा भैलः प्याखँ प्रचलन रहेको छ । एक लाय्कू भैलः र दोस्रो थिमिका प्रजापतिहरुले सञ्चालन गर्ने थिमि भैलः प्याखँ ।


प्रचलित संस्कृति अनुसार लाय्कू भैलः सञ्चालन हुने भएपछि प्रजापतिहरुले भैलः प्याखँ प्रदर्शन नगर्ने प्रचलन रहेको छ । त्यस्तै लाय्कु भैलः प्रदशएन नहुने भए थिमि भैलः प्रदर्शन गर्ने परम्परा रहेको छ । सोही अनुसार यसवर्ष लाय्कु भैलः प्रदर्शन नहुने भएपछि ताहननीबाट थिमि भैलः प्रदर्शन गर्न लागिएको हो ।
थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।
यसवर्ष थिमि भैलः प्याखँमा कृशल प्रजापतिले ज्यापुंग, अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी, साहिल प्रजापतिले लिपा दाँगीको भूमिका निर्वाह गर्दैछन ।
थिमिका जिवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्यवादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्ण बहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्र भक्त प्रजापति र प्रेम कृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहनु भएको छ ।


त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको थिमि भैलः ताहननी व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले बताउनुभयो ।
थिमि भैलः प्याखँ प्रदर्शनका क्रममा बालकुमारी, दथुटोल, लाय्कू, ईनायटोल, दिगुटोल, चपाचो, गुँगचिवा र भुँलाखेललगायतका स्थानमा प्रदर्शन गरिन्छ ।
बोडेको ऐतिहासिक निलबाराही द्य प्याखँ
बोडेको ऐतिहासिक निलबारही द्य प्याखँ चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । यो नाच बोडेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, निलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ । नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरु नाच्ने गुठीका नाईके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो । यो नाच फरक फरक दिन र समयमा फरक फरक स्थानबाट नाच सुरु गर्ने परम्परा रहेको गुठी नाईके श्रेष्ठले बताउनुभयो ।
नीलबाराही नाचको देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्धारपाल दुई र गणेश चार गरी १९ जनाको समुह हुन्छ । देवगणका ज्वकुलु (सहयोगी) र बाध्य वाधक गरी सय जना भन्दा बढी व्यक्तिहरु यो नाचमा क्रियाशिल हुने श्रेष्ठले जानकारी दिनुभयो ।
निलबाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो । यसमा कठिन विधि विधान रहेको श्रेष्ठले बताउनुभयो । “यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४÷१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ,” उहाँले भन्नुभयो ।


यो नाचमा एक पटक देवता बनेपछि उनको मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको छ । “देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएका उनको मुकुण्डो देव घरमा राखेर पुजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ,” श्रेष्ठले भन्नुभयो ।
यो नाच कहिले देखि शुरु भएको भन्ने बारे एकिन प्रमाण फेला परेको छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै निलबाराही नाच शुरु भएको स्थानिय वृद्धाहरु बताउँछन् । अर्को तथ्य अनुसार सुवर्ण मल्ल राजाको पालामा नेपाल मण्डल र काठमाडौं उपत्यकामा मुखुण्डो नाचको प्रचलन शुरु भएको र सोही बेला देखी बोडेमा निलबाराही नाच शुरु भएको मानिन्छ ।
यो नाचको बारेमा प्रचलित किवंदन्ती अनुसार निलबाराही देवी मानिसको रुपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई निलबाराही जंगलमा चार दिनसम्म राखेर नाचको सम्पुर्ण विधि विधान सिकाएर पठाए अनुसार यो नाच शुरु भएको जनविश्वास रहेको पाइन्छ ।
निलबाराही स्वयम् मनुष्यको रुप धारण गरी सिकाएको विश्वास रहेको यो नाचको लागि आवश्यक सामान र बाजागाजा समेत देवी स्वय्मले नै बनाएर पठाएको विश्वास समेत रहेको छ । यसको प्रमाणको रुपमा भैरवले लगाउने तामाको माला रहेको छ, जुन माला त्यही धों भन्ने व्यक्तिको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पु¥याउन जानुपर्ने प्रचलन रहेको छ ।
नगदेशको मल्लकालिन महाकाली प्याखँ
त्यसैगरी मध्यपुर थिमिको नगदेशमा बुधवार रातीदेखी महाकाली जाग्दैछन । ५ वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) सञ्चालन हुने भएपछि नगदेशमा महाकाली जाग्न लागेको हो ।
महाकाली प्याखँमा मुल रुपमा १६ जना देवीदेवता रहन्छन । यस प्याखँमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भुत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ गरी १६ जना देवी देवताहरु रहन्छन । यसका साथै प्याखँका गुरुहरु, बाजा बजाउने वाद्यवादक, नाच्ने कलाकारहरुका सहयोगीहरु समेत गरी महाकाली प्याखँमा प्रत्यक्ष अप्रत्यक्षमा रुपमा ५० भन्दा बढी जनशक्ति आवश्यक रहन्छ ।


यसवर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डंगोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवाल रहेका छन ।
यस्तै वाद्यवाधन समूह समेत गरी ५० जना भन्दा बढी कलाकारहरुको सक्रिय सहभागिता रहने यो प्याखँ दैनिक करिब चार घन्टाका दरले नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिन्छ ।
त्यस्तै यो नाच बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसिमा पनि प्रदर्शन गरिन्छ । दस ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण प्याखँ प्रदर्शन गरिन्छ । साथै आमन्त्रण भए बमोजिम मध्यपुर थिमिका अन्य भागमा समेत प्रदर्शन गर्ने प्रचलन रहेको छ ।


महाकालीमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा प्याखँ प्रस्तुत गरिन्छ । महाकालीमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ । नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।

फाइल तस्विर

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *