भक्तपुर युनाईटेड बन्यो भक्तपुर जिल्ला लिग च्याम्पियन

भक्तपुर, माघ ४
भक्तपुर युनाईटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा मंगलवार सम्पन्न फाइनलमा भक्तपुर युनाईटेड लोकन्थली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
भक्तपुर युनाईटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईले एक÷एक गोल गरे भने लोकन्थलीका रोहित गिरीले एक गोल फर्काए । खेलको ७ औं मिनेटमा भक्तपुर युनाईटेडले मनोजको गोलले अग्रता लिएको थियो । लगत्तै कृष्णले खेलको ९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । निक्कै प्रतिष्पर्धात्मक खेलको ७५ औं मिनेटमा पेनाल्टी मार्फत रोहितले गोल गर्दै लोकन्थलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

खेलमा दुवै टोलीले केही अवसर खेल फाले भने केही अवसरमा भक्तपुर युनाईटेडका गोलकिपर विशाल भण्डारी र लोकन्थलीका गोलकिपर रिजेन हेकाले उत्कृष्ट बचाउ गरे । फाईनल खेलका म्यान अफ द म्याच भक्तपुर युनाईटेडका गोलकिपर बिशाल भण्डारी घोषित भए ।

उपाधी विजेता भक्तपुर युनाईटेडले नगद ५० हजारसहित ट्रफी पाए भने उपविजेता लोकन्थलीले नगद २५ हजारसहित ट्रफी पाए । प्रतियोगितामा थिमि युथ क्लव र विश्व विनायक एफसीले संयुक्तरुपमा तेस्रो स्थानमा रहे । दुवै टोलीले ट्रफिका साथ १०÷१० हजार नगद पुरस्कार पाए । प्रतियोगिताको सेमिफाइनलमा लोकन्थलीले विश्वविनायक युथ क्लबलाई २–० र भक्तपुर युनाईटेडले विश्वविनायकलाई टाईब्रेकरमा १२–११ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा लोकन्थलीका रोहित गिरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले निष्ट स्कुलले प्रायोजन गरेको नगद १० हजार पुरस्कार पाए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर लोकन्थलीका रिजेन हेका, सर्वाधिक ६ गोल गरेका लोकन्थलीकै आशिष थिङ उत्कृष्ट स्कोरर, थिमि युथका समिर श्रेष्ठ उत्कृष्ट रक्षक, भक्तपुर युनाईटेडका हरिश कार्की उत्कृष्ट फरवार्ड र विश्व विनायकका रविन कुटु उत्कृष्ट मिल्डफिल्डर घोषित भए । उत्कृष्ट सबै खेलाडीले बिज एजुकेशनले प्रायोजन गरेको जनही नगद ५÷५ हजार पुरस्कार पाए । प्रतियोगितामा दिब्यश्वरी युथ समाजले फेयर प्ले अवार्ड हात पार्दा उदियमान टोलीको अवार्ड बृहस्पति युवा क्लबले पाए ।


प्रतियोगिताका विजयी खेलाडी तथा क्लवलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाको जिल्ला समन्वय समितिका सहसंयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवे, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष किशोर हेका, वरिष्ठ उपाध्यक्ष अनिल हेका, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबँजा श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *