भक्तपुर क्षेत्र नं. २ मा मेरो दावी स्वभाविक हो – सभापति थापा

भक्तपुर, भाद्र १०

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. २ बाट उम्मेदवारको दावी गर्नुभएको छ । रफत सञ्चार क्लवमा शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा सभापति थापाले आफु स्वभाविकरुपमा उम्मेदवारको दावेदार भएको बताउँदैं आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको हो ।
उहाँले भक्तपुरका जनताले पनि आफुलाई उम्मेदवारका रुपमा हेर्न चाहेको दावी गर्दै भन्नुभयो, “कांग्रेसको तर्फबाट संघीय सांसदमा मेरो उम्मेदवारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् ।” उहाँले अन्य नेताहरुले गरेको उम्मेदवारको दावीलाई पनि स्वभाविकरुपमा लिनुपर्ने बताउनुभयो ।

अहिलेको गठबन्धनको राजनीति संघ र प्रदेशको निर्वाचनपछि पनि निरन्तर चल्ने बताउँदैं उहाँले संघ र प्रदेशको लागि उम्मेदवार चयन गर्न जिल्लास्तरमा पनि छलफल भइरहेको बताउनुभयो । निर्वाचन नजिकिएसँगै गठबन्धन भित्रका दलहरुका नेताले उम्मेदवारी घोषणा गर्नु स्वभाविकै भएको बताउदै उहाँले त्यसले गठबन्धनमा कुनै असर नपार्ने र गठबन्धन भित्र कुनै तित्तता नरहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतका गठबन्धनका दलहरु समेतको सहभागितामा चुनावी अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँल उम्मेदवारीमा धेरैको दावी भएपनि अन्ततः गठबन्धनको निर्णय अन्तिम हुने बताउँदैं भन्नुभयो, “गठबन्धनले निर्णय जसलाई गर्छ त्यहीँ नै आधिकारिक उम्मेदवार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेदवारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।”
उहाँले नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतलाई संकेत गर्दै सिंगल सिंगल भिड्छु् भन्नेहरुलाई धूलो चटाउने बताउने दावी गर्नुभयो । “आज सिंगल सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौँ, हिजो माओवादीको बैशाखी टेकेर एक पटक जिते भन्दैमा घमण्ड नगरे हुन्छ, यस पटक धूलो चटाउँछौ ।”
उहाँले नेकपा एमालेका नेताहरुले हिजो माओवादीको बैशाखी टेकेर निर्वाचन जित्दा ठिक भएको तर आज कांग्रेसले माओवादीलगायतसँग गठबन्धन गरेर निर्वाचन जाँदा बेठिक भएको तर्क गरेर हार मानसिकता प्रदर्शन गरेको टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, “आफूले माओवादी केन्द्रको बैशाखी टेकेर चुनाब जित्दा सुहाउँदो, र पवित्र हुने तर अरुले गठबन्धन गर्दा अपबित्र हुने मानसिकता हार मानसिकता हो ।”
उहाँले केही राजनीतिक व्यापारीहरुले गर्दा राजनीति व्यापारीकरण भइरहेको चर्चा गर्दै त्यस्ता नेताहरु धेरै समय राजनीतिमा नटिक्ने टिप्पणी समेत गर्नुभयो । “अहिले केही राजनीतिक व्यापारीहरुले पैसा कमाएका छन्, पैसाका भरमा उम्मेदवारी खरिदबिक्री गर्नेसम्मका चर्चा परिचर्चा चलिरहेका छन् । त्यस्ता चर्चा र परिचर्चा पराजित मानसिकता हो । निर्वाचन हुनुभन्दा अगाडिको पराजित मानसिकताले हामीसित निर्वाचन लड्ने औकात र हैसियत राख्दैन,” उहाँले भन्नुभयो, “हिजो राजनीतिक व्यापारीहरुसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाँडेर टिकट खरिद गर्ने र चुनाब जित्छु भनेर हल्ला पनि सुनिएको छ । यसपटकको निर्वाचनमा जनताले त्यस्ताको औकात देखाई दिनेछन ।
काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अल्फा बिटाको अबैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा कांग्रेसको समर्थन रहेको सभापति थापाले बताउनुभयो । उहाँले सांसद महेश बस्नेतले बालेन्द्रलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले बिरोध गरेको दावी गर्नुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *