भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, केन्द्रका सबै सेवा निःशुल्क

भक्तपुर, असार २४
भक्तपुरको आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले विशेषज्ञ चिकित्सकसहितको सेवा बिस्तार, अकुपञ्चर, फिजियोथेरापीको सेवा र निःशुल्कका साथै विशेष छुटमा सःशुल्क फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएपछि केन्द्रमा बिरामीको चाप बढ्न थालेको हो ।
केन्द्रमा हाल दैनिक ९० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको केन्द्रले आइतवार आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताउनुभयो । केन्द्रमा दैनिक कम्तीमा एक सय जना बिरामी पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं । अहिले दैनिक ९० जनाको हाराहारीमा बिरामी आउने गरेको छ, उहाँले भन्नुभयो ।
आयुर्वेदप्रति सर्वसाधारणको आकर्षण बृद्धि भएको तथ्यांकले पनि पुष्टि गर्दछ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको गत असार २० गतेसम्म १९ हजार ८ सय ८० जनाले ओपिडी सेवा लिएको छ । गत आर्थिक वर्षमा यो सेवा लिनेको संख्या १४ हजार १ सय ४० जना मात्र थिए ।
केन्द्रले ओपिडि सेवा बाहेक स्तनपायी आमा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्ग नसर्ने रोगको पहिचानका लागि स्क्रिनिङ, योग साधनालगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । केन्द्रले यी कार्यमा करिव ७ हजार जनालाई सेवा प्रदान गरेको छ ।
केन्द्रले दिने सम्पूर्ण सेवा निःशुल्क रहेको उहाँले बताउनुभयो । “केन्द्रले हालै फिजियोथेरापी र अकुपञ्चर सेवा शुरु गरेको छ । यो सेवा समेत केन्द्रले निःशुल्क प्रदान गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, सरकारले “तोकिएको २३ थरी औषधी निःशुल्क वितरण गर्दै आएका छौं । बिरामीको सुविधाको लागि केन्द्रले विशेष छुटसहितको सःशुल्क फार्मेसी सेवा समेत शुरु गरेका छौं ।” उहाँले टिकट समेत निःशुल्क रहेको जानकारी दिनुभयो ।
केन्द्रले नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकहरुद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म÷पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै आएको डा. गिरीले बताउनुभयो ।


त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।
केन्द्र बाहेक भक्तपुरमा दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको केन्द्रकी वैद्य शान्ता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चाँगुनारायण नगरपालिका वडा न. ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न. ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्र रहेको छ । त्यस्तै मध्यपुर आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले नेपाली समाजमा बोल्नेको पिठो पनि बिक्ने उखान चल्तीमा रहेको उदाहरण प्रस्तुत गर्दै आयुर्वेदको सेवाको विषयमा प्रचार प्रसारको कमीले गर्दा पनि मानिसको आकर्षण हुन नसकेको बताउनुभयो ।


उहाँले विगतमा केन्द्रमा औषधीको अभाव हुने समस्या रहेको बताउँदैं अहिले त्यसो नभएको र फिजियोथेरापी एवम् अकुपञ्चर सेवाको बिस्तारसँगै आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप थप बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीले विगत दुई वर्ष यता केन्द्रमा बिरामीको चाप बढ्न थालेको बताउनुभयो । उहाँले पत्रकारहरुले पनि आयुर्वेदका बारेमा समाचार प्रकाशन गरी यसको प्रचार प्रसारमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुरमा आयुर्वेद अस्पताल सञ्चालनको लागि जग्गाको व्यवस्थापन अन्तिम चरणमा पुगेको र जग्गाको व्यवस्था हुनासाथ बागमती प्रदेश सरकारले अस्पतालको भवन निर्माण अघि बढाउने प्रतिवद्धता जनाएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रको आर्थिक प्रशासनका कर्मचारी राजन अधिकारी र कविराज श्यामकुमार रायमाझीले केन्द्रमा बिरामीको चापको तुलनामा स्थान ज्यादै साँघुरो भएको गुनासो गर्दै ठूलो र फराकिलो स्थानमा केन्द्र सञ्चालन गर्न पाए अझ बढी सरल र सहज वातावरणमा सेवा प्रदान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे, राससकर्मी रमेश गिरी, नागरिक दैनिकका कृष्ण किसी र रेडियो जनसञ्चारका सुरेश सायजूलगायतले सल्लाह सुझाव राख्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *