भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण बिस्तार गरिने – मन्त्री पौडेल

भक्तपुर, साउन ३०
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मुलुकको सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र बिस्तार गर्ने घोषणा गर्नुभएको छ । विश्व अंगदान दिवसको अवसरमा मंगलवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भक्तपुरमा आयोजित कार्यक्रमम मन्त्री पौडेलले भक्तपुरलाई केन्द्र बनाएर देशको सातै प्रदेशमा उप केन्द्र स्थापना गरेर अंग प्रत्यारोपण सेवा बिस्तार गर्ने घोषणा गर्नुभएको हो ।
“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन् । तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ,” उहाँले भन्नुभयो, “यस केन्द्रले मात्र देशैभर सेवा दिन सक्दैन । त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।”


सीमित स्रोतसाधन, पूर्वाधार र जनशक्तिबाट स्वास्थ्य क्षेत्रमा अधिक लाभ हासिल गर्न आवश्यक गृहकार्य भइरहेको बताउँदै उहाँले भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्र साँघुरो भएकोले उपयुक्त ठाउँमा स्थानान्तरणको लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवारत सबै चिकित्सक र कर्मचारीप्रति सम्मान प्रकट गर्दै उहाँले अंगदान र अंग प्रत्यारोपनले स्वास्थ्य क्षेत्रमा सामाजिक क्रान्ति ल्याएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमालाई रु. १ लाखबाट बढाएर पाँच लाख पु¥याउने योजना हालै सार्वजनिक गरेको बताउनुभयो । “धेरैजनाले बिमाको दायरा बढाउनुलाई स्टन्ट मात्र हो भन्ने भाष्य निर्माण गरे, तर मैले स्रोतको समेत विवरण उपलब्ध गराइसकेको छु,” उहाँले भन्नुभयो ।


कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अंगदान गर्ने घोषणा गर्दै नेपालमै अंग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरुलाई विदेशमा उपचार गर्न जाने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
उहाँले केन्द्रको सेवा गुणस्तरीय हुँदै गर्दा पनि पूर्वाधारको अभावका कारण धेरैले बिरामीले सेवाबाट वञ्चित हुनु परिरहेको बताउनुभयो । केन्द्रमा आएका बिरामीलाई सेवा दिन पर्याप्त संख्यामा अनुभवी चिकित्सकहरु रहेको भएतापनि भौतिक पूर्वाधार पर्याप्त नहुँदा क्षमता अनुसारको सेवा प्रवाह गर्न कठिनाइ भएको बताउँदैं उहाँले उक्त समस्या समाधानका लागि आफूले केन्द्र सरकारमार्फत् पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले केन्द्रले मानवलाई नयाँ जीवन दिई रहेको चर्चा गर्दै केन्द्रले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले एकै परिसरका सञ्चालनमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र क्यान्सर अस्पताललाई एकै बनाएर सञ्चालन गर्न सक्दा देशकै नमुना बन्न सक्ने धारणा राख्नुभयो ।
उहाँले प्रादेशिक अस्पतालहरुमा पनि डाइलाइसिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदैं उहाँले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अंगदानबारे सहज कानुन आवश्यक भएको बताउँदै नागरिकहरुलाई अंगदानको लागि प्रोत्साहित गर्न समय समयमा जनचेतनामूलक कार्यक्रमहरुको खाँचो औंल्याउनुभयो । उहाँले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउनु पर्ने भन्दै स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले सञ्चालन गरे धेरै बिरामीहरु यसबाट लाभान्वित हुने बताउनुभयो ।


केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापना भएको १२ वर्ष समयावधिमा करिब १३०० मिर्गौला प्रत्यारोपण र हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न भइसकेको जानकारी गराउनुभयो । अंग प्रत्यारोपण जस्तो संवेदनशील विषयलाई सातै प्रदेशमा विस्तार गर्न सके मात्र नेपाली बिरामीलाई राहत हुने बताउँदै उहाँले नेपालमा हालसम्म मस्तिष्क मृत्युपछि अंगदान गर्ने करिब २६०० जनाले मन्जुरीनामा दिइसकेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेल, सांसद थापा र बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाले अंगदान दिने घोषणा गर्नुभएको थियो । साथै अंगदान दिने घोषणा गर्नेहरुलाई सम्मान गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *