भक्तपुरमा शास्त्रीय संगीतसहितको ‘संगीत अर्पण’ कार्तिक २७ गते

भक्तपुर, कार्तिक २३
भक्तपुरमा यही कार्तिक २७ गते शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम संगीत अर्पण हुने भएको छ । पूर्वीय शास्त्रीय संगीतको विकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको विकास हेतु स्थापित भक्तपुरको संस्था ‘आराधना’को आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
संस्थाको उद्देश्य अनुरुप शास्त्रीय संगीत र साथमा नेपालकै मौलिक र परम्परागत बाद्यबादनका साथ भजन, आधुनिक गीत तथा नेपाली माटोको सुवास बोकेको लोकगीत समेतको प्रस्तुती राख्दै दुई बर्ष अघि शुरु गरिएको अभियान बिचमा कोरोनाका कारण रोकिएको तर नयाँ जोसका साथ यसपटक पुनः शुरु गरिएको संस्थाका सदस्य बिजेन्द्र चवालले बताउनुभयो ।
संस्थाले आफ्नो प्रथम कार्यक्रम प्रसिद्ध शास्त्रीय तबला बादक तबला मायेष्ट्रो रबिन श्रेष्ठको सम्झनामा आयोजना गरेको थियो भने त्यसपछी ‘संगीत प्रबीण’ नरराज ढकालको सम्झनामा दोस्रो र नेपालकै प्रथम महिला धिमे बादक मानिने इन्दिरा लाछिमस्युको परम्परागत बाजाहरुको प्रस्तुति सहितको तेस्रो कार्यक्रम ‘म्युजिक फर पिस’ गरी तीन सांगीतिक शृंखला गरिसकेको छ । आराधनाको तेस्रो श्रृंखलामा संगीत ग्राम गुरुकुल नेपालका प्रमुख गायन प्रशिक्षक मिष्टर लोहलाको शास्त्रीय गायन सहित लक्ष्मण पलिखेल, प्रबिन शाही सहित अन्य गायक गायिकाहरुको प्रस्तुत रहेको आराधना समूहका अर्का सदस्य अनिस शाक्यले बताउनुभयो ।
यसपटकको चौथो संस्करण भक्तपुर नगरपालिका गोलमढीस्थित झौरबही बहाल भित्र हुने र जसमा विगतमा झै नयाँ पुराना कलाकारहरुको समिश्रण रहने आराधना समूहका महेन्द्र सिंख्वालले बताउनुभयो ।
कोभिडको जोखिम अझै रहेको कारण भिड्भाड नहुने र सामाजिक दूरी कायम हुने गरी कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । कार्यक्रमले शास्त्रीय संगीत विकास र बिस्तारमा टेवा पुग्ने विश्वास लिईएको संस्थाका अर्का सदस्य शम्भोचरण राजभण्डारीले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *