भक्तपुरमा फेरी वर्ड फ्लु भेटियो

भक्तपुर, फागुन २७
भक्तपुरमा फेरी वर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० स्गित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको हो । यसअघि गत साता सूर्यविनायक नगरपालिका १० का दुई फार्ममा वर्ड फ्लु भेटिएको थियो ।
सुवाल पोल्ट्री फार्मका कमर्शियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा वर्ड फ्लु रोग एच पि ए वान को सबटाईप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
उक्त फार्मका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको शुक्रवार बसेको बैठकले वर्ड फ्लु नियन्त्रण नियमावली २०७८ अनुसार उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ । साथै बैठकले वर्ड फ्लु भेटिएको कुखुरा फार्मलाई केन्द्रविन्दु मानी पुर्वमा अजिमा ईंटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, पश्चिममा कृष्ण ईंटा उद्योगसँगै रहेको अरनिको राजमार्गतर्फ जाने कच्ची बाटो, उत्तरमा हनुमन्ते खोलाको दक्षिण किनारा र दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना भित्र वर्ड फ्लु नियन्त्रण नियमावली २०७८ अनुसार पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री अण्डा, दाना, सुली समेत अन्यत्र निकासी हुन नपाउने गरी नियन्त्रणमा लिई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धीत स्थानीय तहको समन्वयमा उचित व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ शर्माले बताउनुभयो ।
बैठकले भक्तपुर जिल्ला लगायत उपत्यका भित्रिने सबै नाकाहरुमा पशु सेवा विभागको सहयोगमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको संयोजकत्वमा पशु सेवा विभाग र सम्बन्धीत स्थानीय तहको समन्वयमा पन्छी, पन्छीजन्य पदार्थ दाना, अण्डा, सुली ओसारपसारमा सघन निगरानी बढाउने निर्णय गरेको छ ।
बैठकले वर्ड फ्लु नियन्त्रणमा खटिने कर्मचारी र कामदारलाई नियमानुसार पाउने सेवा सुविधा तथा रोग नियन्त्रणका लागि नष्ट गरिएका सामग्रीको क्षतीपुर्ति उपलब्ध गराउन पशु सेवा विभाग हरिहरभवनलाई अनुरोध समेत गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *