भक्तपुरमा पहिलो आदर निकेतन निर्माण हुने

भक्तपुर, मंसिर २५
ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सेवा सुविधाका लागि भक्तपुरमा पहिलो आदर निकेतन निर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाले वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा जिल्लाकै पहिलो आदर निकेतन निर्माण गर्न लागेको हो ।
सो आदर निकेतनको नगरप्रमुख सुनिल प्रजापतिले शुक्रवार शिलान्यास गर्नुभयो । सो अवसरमा नगरप्रमुख प्रजापतिले चुनावी घोषणापत्रमै ज्येष्ठ तथा समाजका अग्रज नागरिकहरुको सुविधाको लागि आदर निकेतन खोल्ने प्रतिवद्धता गरे अनुसार नगरबासी जनतालाई पायक पर्ने ठाउँको छनोट गरी आदर निकेतन निर्माणमा जोड दिएको बताउनुभयो ।
उहाँले नगरपालिकाले नागरिकलाई शिक्षित र स्वस्थ बनाउन शैक्षिक संस्था र अस्पताल सञ्चालन गरेको जानकारी दिँदैं नगरका हरेक विकास निर्माणमा नगरपालिका जनतासँग हातेमालो गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
‘भक्तपुर नगरपालिका नगरबासीहरुको साझा संस्था हो । नगरपालिकाका गतिविधिहरुमा सबैको आर्थिक तथा भौतिक सहयोगले सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका कामहरुमा टेवा पुगिरहेको छ,’ उहाँले भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले शिक्षित युवा पुस्ताले नै समाजलाई सभ्य र सु–संस्कृत बनाउने बताउँदैं नगरपालिकाले सात वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी देशको लागि आवश्यक जनशक्ति उत्पादनमा योगदान गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले आदर निकेतनको आवश्यकता र महत्वमाथि प्रष्ट पार्दै आदर निकेतन भवन निर्माणसँगै उक्त क्षेत्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
आदर निकेतन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ सुजखूले भवन निर्माणको लागि स्थानीयको आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा जनाउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *