भक्तपुरमा कांग्रेसका दुई समूहबीच कडा प्रतिष्पर्धा, देउवा पक्षीय संस्थापन पक्ष झिनो मतले अगाडि

भक्तपुर, मंसिर ९
भक्तपुरमा नेपाली कांग्रेसका दुई समूहबीच कडा प्रतिष्पर्धा देखिएको छ । यद्यपी नगरअधिवेशनदेखी क्षेत्रीय अधिवेशनको नतिजा आउँदासम्म भक्तपुरमा सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्ष झिनो मतले अगाडि देखिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहदेखी शुरु अधिवेशनमा सभापति देउवा पक्षीय संस्थापन पक्ष विरुद्ध कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, कोइराला परिवार पक्षीय नेताहरुले संयुक्त समूह बनाएर अधिवेशनमा होमिएपनि क्षेत्रीय अधिवेशनसम्मको नतिजामा संस्थापन पक्ष झिनो मतले अघि देखिएको हो ।
क्षेत्रीय अधिवेशनको उम्मेदवारी दर्ता गर्नेक्रममा कोइराला खेमाको रुपमा परिचित वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत र विदुरमानसिंह बस्नेतले साथ दिएपछि संस्थापन पक्ष थप बलियो बनेको छ । यद्यपी जिल्लामा समिकरण बन्ने र भत्किने क्रम पनि चलेकाले जिल्ला अधिवेशनको नतिजा कसको पक्षमा जान्छ भनी कांकलन गर्न नसकिने अवस्था रहेको कांग्रेसका नेताहरु बताउँछन ।
भक्तपुरमा कांग्रेसका क्षेत्रीय प्रतिनिधिको संख्या १ हजार २४ छन । नगर अधिवेशनमा संस्थापन पक्षका चाँगुनारायण नगरसभापतिमा विजयी शिवहरी केसीले १८८, सूर्यविनायकमा विजयी निशान ढुंगेलले १४४, मध्यपुर थिमिमा पराजित सुरेन्द्र श्रेष्ठले ८५ र भक्तपुर नगरसमितिमा पराजित राम कासुलाले ६८ गरी कुल ४८५ मत प्राप्त गरेका थिए भने इत्तर पक्षका मध्यपुर थिमिमा विजयी हरिदास प्रजापतिले १९०, भक्तपुर नगरसमितिमा निर्वाचित राजेन्द्र तमखुले ८९, चाँगुनारायणमा पराजित गोपाल पौडेलले ५८ र सूर्यविनायकमा पराजित रवि रणाले ११२ गरी कुल ४४९ मत प्राप्त गरेका थिए ।


त्यसैगरी क्षेत्रीय अधिवेशनमा समग्रमा संस्थापन पक्षले ५०९ मत पाए भने इत्तर पक्षले ४७८ मत प्राप्त गरे । दुई क्षेत्रीय समितिमा पनि दुवै समूहले एक एक स्थानमा वर्चश्व कायम गरे । भक्तपुर क्षेत्र नं. १ मा संस्थापन पक्षका जीवन खत्री विजयी हुँदा क्षेत्र नं. २ मा संस्थापन इत्तर पक्षका भेषबहादुर कार्की विजयी भए । खत्रीले २७१ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी संस्थापन इत्तर पक्षका उद्धव खड्काले ११६ मत प्राप्त गरे । त्यसैगरी क्षेत्र नं. २ मा निर्वाचित कार्कीले ३६० मत ल्याउँदा उनका प्रतिष्पर्धी संस्थापन पक्षका विदुरमानसिंह बस्नेतले २३८ मत प्राप्त गरे ।
भक्तपुरका चार स्थानीय तह मध्ये दुई वटामा संस्थापन पक्षले जिते भने दुई वटामा संस्थापन इत्तर पक्षले जिते । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा संस्थापन पक्षका क्रमशः शिवहरी के सी र निशान ढुंगेल सभापतिमा विजयी हुँदा मध्यपुर थिमिमा हरिदास प्रजापति र भक्तपुर नगरपालिकामा राजेन्द्र तमखु संस्थापन इत्तर पक्षका विजयी भए ।
त्यस्तै चार प्रदेशसभा क्षेत्रमा पनि दुवै समूहले दुई दुई स्थानमा जित हासिल गरे । प्रदेशसभा क्षेत्र अन्तर्गत संस्थापन पक्षले भक्तपुर १ ख र २ क मा जित हासिल गरे । भक्तपुर १ ख मा संस्थापन पक्षका जयन्द्र खड्का र भक्तपुर २ क मा प्रदिप कार्की सभापतिमा निर्वाचित भए । भक्तपुर १ क मा संस्थापन इत्तर पक्षका शिव अवाल र भक्तपुर २ ख मा ओमप्रकाश श्रेष्ठले बाजी मारे ।
महाधिवेशन प्रतिनिधिमा दुवै क्षेत्रमा मिश्रित परिणाम आएपनि समग्रमा संस्थापन पक्ष बलियो देखिए । भक्तपुरबाट निर्वाचित ५० जना महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन पक्षका ३१ जना छन भने संस्थापन इत्तर पक्षका १८ जना र एक जना कुनै समूहमा नरहेका स्वतन्त्र समूहका छन ।
संस्थापन इत्तर पक्ष भक्तपुर क्षेत्र नं. १ मा कमजोर देखिएको छ । यस क्षेत्रबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन पक्षका २१, इत्तर पक्षका ३ जना र एक जना कुनै समूहमा नरहेका स्वतन्त्र छन । यस क्षेत्रबाट इत्तर पक्षका नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्ठ समेत पराजित भए । यद्यपी उनले मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेका छन ।
भक्तपुर क्षेत्र नं. २ मा संस्थापन पक्ष तुलनात्मकरुपमा कमजोर देखिएको छ । क्षेत्रीय अधिवेशनको उम्मेदवारी मनोनयन जारी रहँदा कोइराला खेमाका रुपमा परिचित विदुरमानसिंह बस्नेत, वरिष्ठ पत्रकारद्धय कविर राणा र माथवरसिंह बस्नेतले संस्थापन पक्षलाई साथ दिएपनि भक्तपुर क्षेत्र नं. २ मा संस्थापन पक्षले क्षेत्रीय समिति मात्र गुमाएन २५ जना महाधिवेशन प्रतिनिधिमध्ये १० जनामा खुम्चिए । यस क्षेत्रमा आदीवासी जनजाती महिलातर्फको महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन बाँकी रहेको छ । मंसिर ७ गते सम्पन्न निर्वाचनमा मतपत्रमा त्रुटी भेटिएपछि यो विधाको निर्वाचन स्थगित गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *