बौद्ध धर्मावलम्बीहरुले मनाए लिच्छवीकालिन सम्यक दान पर्व

भक्तपुर, माघ २
माघे संक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सोमवार धुमधामले लिच्छवीकालिन सम्यक दान पर्व मनाएका छन । माघे संक्रान्तिमा नेवार समुदायले घिउ चाकुका साथै तिलको लड्डु खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायले यस दिनलाई घ्य चाकु सँलु र हाम्व सँलु पनि भन्ने गर्दछन ।
हाम्व सँलुको अवसरमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरुले ऐतिहासिक एवं साँस्कृतिक रुपले मनाइने एक मौलिक पर्व हो । विभिन्न स्वरुपका बुद्ध र बिहारका गुरु पुरोहितलाई आ–आफ्नो मनोकांक्षा पुरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक दान पर्व हो ।
सम्यक दानका लागि भक्तपुरको क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकिर्ति महाविहार (थथुवहि) र भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्तिमहाविहार (थिमि)का उपाध्यायगुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुर जयकिर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्र अर्थात दुधपाटीस्थित नपुखु परिसरमा जम्मा गरिएको थियो ।
सम्यक दानमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफुल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ । त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्देहरुलाई भोजन, अन्न र दक्षिणा दान गरी भब्य रुपमा मनाउँदै आएको छ ।
सम्यक दानपर्व बुद्धको पालादेखी चल्दै आएको विश्वास रहेता पनि ऐतिहासिक प्रमाणको रुपमा लिच्छवीकालिन धार्मिक राजा वृषदेवको पालामा शुरु भएको हो । काठमाण्डौं उपत्यकामा साँंस्कृतिक सम्यक दान पर्व नियमित र ऐच्छिक रुपमा चल्दै आएको छ । काठमाण्डौमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भुको भुईख्यलमा र ललितपुरमा ५ वर्षमा एकपटक नागवहालमा सम्यक दान पर्व मनाईन्छ भने भक्तपुरमा प्रत्येक वर्ष माघे संक्रान्तीको दिन नियमित रुपमा यो साँंस्कृतिक पर्व मनाईंदै आएको छ ।
भक्तपुरमा सम्यक भोजन दान पर्व ने.सं.७८७ सालमा भक्तपुर चतुर्ब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नु भएको थियो । उहाँले सम्यक दान आयोजना गरिएको भक्तपुर इटाछेँस्थित थथुवहि (जयकिर्ति महाविहार) त्यस समयमा जीर्ण भएकोले जयरत्नले जिर्णोद्वार गरेको ईतिहासमा उल्लेख छ । जयरत्नले सम्यक दानपर्व नियमित रुपमा प्रत्येक वर्ष आयोजना गर्न करीव ३ सय ६० रोपनी जग्गाको आयस्ता ब्यवस्था गरिएको थियो । जयरत्न पछि वहाँका छोराहरु जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भब्य रुपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरिएको थियो ।
ने.सं.१०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरु, सुवर्ण देवता सहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरु, नाला, सांगा, थिमि आदि ठाउँमा रहेका दीपंकर तथागतहरु समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको पाईन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *