बोक्सीको आरोपमा कुटिए महिला

भक्तपुर, बोक्सीको आरोपमा राजधानीमै एक महिला निर्घात पिटिएकी छिन । ढिला गरी प्राप्त जानकारी अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहराबस्तीमा सामान्य झारफुक र ज्याला मजदुरी गर्दै आएकी मुना खनाल जेठ ८ गते शनिवार बोक्सीको आरोपमा निर्घात पिटिएकी हुन ।
कुटपिटबाट घाईते भएकी खनाल हाल मनोहराबस्तीस्थित टहरामा नै बसिरहनुभएको छ । शरीरभरी निलडाम भएकी उहाँ मुन्टो चलाउन समेत नभएको बताउनुहुन्छ । पिडित खनालको टाउको काँध, ढाड, कम्मर र खुट्टामा चोट तथा निलडाम रहेको छ । उहाँलाई हाल दुई जनाले बसाई दिन र सुताई दिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएको र कुटपिटका क्रममा आफुसँग भएको केही रकम समेत हराएकोले उपचार गराउन नसकिएको उहाँले बताउनुभयो ।
पिडित महिलाका अनुसार सोही बस्तीमा बस्ने फुलमाया भन्ने महिला केही समयदेखी काम्ने र बरबराउनेलगायतका समस्याले ग्रसित थियो । उनलाई अस्पतालमा लगेर उपचार गराउँदा समेत निको नभएपछि झारफुकको लागि खनाल समक्ष ल्यायो । फुलमायाको विदेशमा रहेका पतिले समेत उपचार गरिदिन आग्रह गरेपछि आफुले फुलमायाको उपचार गरेको खनालले बताउनुभयो । आफ्नो झारफुकबाट फुलमायाको रोग निको हुँदैं गएको खनालको दावी छ ।
सोही क्रममा जेठ ८ गते फुलमायाका बुबाले झारफुकको बहानामा फुलमायाको कोठामा बोलाएर आफ्नी छोरीलाई बोक्सी मन्त्र सिकाएर झन आक्रामक बनाउन लागेको आरोप लगाई अन्य मान्छे समेत बोलाएर कुटपिट गरेको खनालले बताउनुभयो । ‘बजारमा सब्जी खरिद गर्न गएकी थिएँ । फुलमायाको बुबालेसाँझ फोन गरेर बोलायो । म उनको घरमा पुग्ने बित्तिकै हामी ‘जय नारी महिला समूह’का हौ भन्दै एक हुल घरभित्र नै पसेर तै होइनस झाँक्री बोक्सी भन्दै कुटपिट गर्न थाले,’ खनालले भन्नुभयो ।
पिडित खनालले आफुलाई प्रहरीकै सामुन्ने पनि कुटपिट गरेको बताउनुभयो । ‘फुलमाया स्वयम्ले मेरो घरभित्र आउने तिमिहरु को हौ भनेर कुटपिट गर्ने समूहलाई बाहिर पठाएपछि प्रहरीलाई खबर गरें,’ उहाँले भन्नुभयो, ‘प्रहरी आएपछि ढोका खोलेर निस्कन लाग्दा प्रहरीकै सामुन्ने उनीहरुले पुनः कुटपिट गरे ।’
पिडित खनालले आफुलाई कुटपिट गर्ने समूहले छोरालाई पनि मार्ने धम्की दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘छोरोलाई पनि बस्तीमा पसे मार्ने धम्की दिएका छन् आफू अर्को मान्छेको सहायता नभए सुत्न बस्नसम्म पनि सक्दिन । दिशा पिसाव समेत ओछ्यानमा नै गर्न बाध्य भएकी छु । सावित्री सुवेदीको आडमा मलाई बोक्सी भनेर कुटपिट गरे । मलाई न्याय चाहियो ।’
खनाललाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर, अनिल आलेमगर, लक्ष्मी माया, टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका व्यक्तिहरुले कुटपिट गरेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रत्यक्षदर्शीले बताए । दश पन्ध्र जनाको समूहले खनाललाई बोक्सीको आरोप लगाउँदैं निर्घात कुटपिट गरेको अर्का स्थानीयले बताए ।
खनाललाई केटा मान्छेहरुले नै लातैलात्ता र मुक्का हानेका कारण उनको मुन्टो नै घुमाउन नमिल्ने भएको स्थानीय माया तामाङले बताउनुभयो । पिडित खनालले आफुलाई झुठा आरोप लगाउँदै केटाहरुले समेत कुटपिट गर्दा पनि न्याय नपाए आत्महत्या गर्न बाध्य हुने बताएको मायाले बताउनुभयो । ‘कुटपिटबाट पिडित महिला मानसिकरुपमा विक्षप्त भएकी छिन, न्याय नपाए आत्महत्या गर्छु भन्छन,’ उहाँले भन्नुभयो ।
घटनामा संलग्नलाई कारवाहीको माग गर्दै पिडितका श्रीमानले महानगरिय प्रहरी वृत्त थिमिमा उजुरी समेत दिनुभएको छ । प्रहरीले भने घटनाको पक्षमा छानविन भइरहेको र दुवै पक्षलाई उपस्थित गराई पहिलो चरणमा छलफल गराएको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *