बिस्का जात्राले सिन्दुरमय मध्यपुर थिमि

भक्तपुर, बैशाख २
प्रसिद्ध बिस्का जात्राको अवसरमा आज मध्यपुर थिमिका बासिन्दाले सुथसिया अर्थात बिहानीको भुईसिन्ह (सिन्दुर) जात्रा भव्यरुपमा मनाएका छन । स्थानीय बालकुमारी मन्दिर परिसरमा आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं मध्यपुर थिमिबासीले एक आपसमा हर्षोल्लासका साथ सिन्दुर दलेर सुथसिया भुईसिन्ह जात्रा मनाएका हुन ।
जात्रा शुरु हुनुअघि हातहातमा धपक्क बलेको चिलाख लिएका समूह, त्यसपछि धिमे, भुस्या, छुस्या र काँय् बाजा बजाउनेको समूहसहित आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित बालकुमारी परिसरमा भेला भएका थिए ।
सुईनिखः अर्थात ३२ खट्को जात्रा पनि भनिने यो जात्रामा मध्यपुर थिमि क्षेत्रका विभिन्न देवी देवताका ३२ खट् बालकुमारी परिसरमा भेला हुने परम्परा छ । सोही अनुसार बालकुमारी परिसरमा देवी देवताका खट् भेला भएका हुन । कुनै बेला ३२ खट् हुने यो जात्रामा विभिन्न कारणले अहिले करिव २६ खट्को सहभागिता रहने गरेको छ ।


बालकुमारी परिसरमा बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत बालकुमारी मन्दिरमा राखिएको थियो । आज बिहान सिद्धिकाली देवी आफ्ना गणका देवी देवताका खटसहित बालकुमारी परिसरमा प्रवेश गरेका थिए । सिद्धिकालीको खट बालकुमारीमा ल्याएर विराजमान गराएपछि बालकुमारीले सिद्धिकालीलाई सिउ दिएर स्वागत सत्कार गरेका थिए । त्यसपछि पमा नाईकेहरुको अनुमतिले बालकुमारीको खट उचालेर जात्रा शुरु गरिएको थियो ।


बालकुमारीको खट उचालेसँगै बालकुमारीको जयजयकार र धिमे, भुस्या, छुस्या र काँय्बाजाको तालले बालकुमारी परिसर जुरुक्क उचालिएको अनुभुती भएको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।
जात्रा शुरु भएसँगै बालकुमारीको खट दथुटोलहुँदैं नगरपरिक्रमा गराएको थियो । बालकुमारीको खटसँगै लहरै सबै देवीदेवताका खटलाई पनि नगरपरिक्रमा गराएको थियो ।
जात्रामा लाय्कु दरवारको मुल ढोका अघि बालकुमारीलाई बाटो छेक्ने परम्परा रहेको छ । बालकुमारी दरवारभित्र पस्छ भनी सिद्धिकाली, बालाखुचा द्योलगायतका देवी देवताले बाटो छेकेर बस्ने गर्दछ ।
थिमिको दिगुटोलबाट सिद्धिकालीको गणका देवी देवताका खट चपाचो क्षेत्र लैजाने र बालकुमारी, दक्षिण बाराही र विष्णुवीरका गणका देवी देवताका खट पुनः बालकुमारीतर्फ ल्याएका थिए ।


परम्परा अनुसार यसवर्ष बालकुमारीको खटसहित दक्षिण बाराही, विष्णुवीर लगायतका देवताका खट शंखधर चोक हुँदैं दक्षिण बाराही मन्दिर ल्याएका थिए । बैशाख २ गते शनिवार परेमा बालकुमारीको खटसहित दक्षिण बाराही, विष्णुवीर लगायतका देवताका खट दक्षिण बाराही मन्दिर लैजाने परम्परा रहेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
वैशाख २ गते शनिबार पर्दा जात्रामा कुनै अनिष्ट नहोस् भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी मध्यपुर थिमिको वडा नं. ७ नगदेशमा पनि सिद्धिगणेशको खटलाई वडाका सबै टोलटोलमा परिक्रमा गराएर सुथसिया जात्रा मनाएका छन । परम्परा अनुसार सिद्धिगणेशको खट पनि बालकुमारी ल्याउनुपर्ने भएपनि केही वर्ष अघि भएको एक घटनाले सिद्धिगणेको खट बालकुमारी ल्याउने परम्परा टुटेको हो । नगदेशमा पनि हजारौं स्थानीयले एक आपसमा सिन्दुर छर्केर हर्षोल्लासका साथ सिन्दर जात्रा मनाएका हुन ।


यस्तै मध्यपुर थिमिको वडा नं. १ लोहकिल्थलीका स्थानीयले पनि सिद्धिकालीको खटलाई परिक्रमा गराई सुथसिया सिन्दर जात्रा मनाएका छन । वडा नं. १ को प्रजापति टोलका स्थानीय बाजागाजासहित बैशाख १ गते साँझ थिमिको सिद्धिकालीमा पुगेर जात्रा मनाउने परम्परा भएपनि २०६७ सालको बिस्का जात्रादेखी लोहकिल्थलीमा नै सिद्धिकालीको खट निर्माण गरी जात्रा शुरु गरेको बिस्का जात्रा व्यवस्थापन मूल समितिका अध्यक्ष जगतकृष्ण प्रजापतिले बताउनुभयो ।
मध्यपुर थिमि क्षेत्रको बिस्का जात्रामा प्रत्येक चोक, चौबाटो र टोलटोलमा स्थानीयले एक आपसमा सिन्दुर छर्केर खुसीयाली मनाएका थिए, जसले गर्दा मध्यपुर थिमिमा टोल, बस्ती, सडक सबै सिन्दुरमय बनेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *