प्रहरी हुँ भन्दै लुटपाट गर्ने भक्तपुर लोहकिल्थलीका योगेन्द्रसहित तीन जना पक्राउ

भक्तपुर, भाद्र ३०
प्रहरी हुँ भन्दै लुटपाट गर्ने समूहका भक्तपुर लोहकिल्थली बस्ने योगेन्द्र तामाङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन भने दुई जना अझै फरार छन । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका १ घरभई हाल भक्तपुर लोहकिल्थली बस्ने २९ वर्षिय योगेन्द्रसहित सिन्धुली मरिन गाउँपालिका ३ घर भई हाल काठमाण्डौं कपन बस्ने ३० वर्षिय देव लामा र रामेछाप सुनापाती गाउँपालिका १ घर भई कपन बस्ने २० वर्षिय रोहित भन्ने मिन बहादुर तितुङ छन ।
उनीहरुले गत भाद्र २२ गते काठमाण्डौंको ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्ज बन्द गरी जाँदै गरेका सो मनी एक्सचेन्जका सञ्चालकलाई म्हैपी पानी ट्यांकीनजिकैबाट जबरजस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदैं शोभा भगवतीको पुल मुनीबाट डल्लु पुर्याई हातपात समेत गरेर ३० लाख भन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।


तीन वटा मोटरसाइकलमा आएका योगेन्द्रसहितका पाँच जनाको समूहले मनी एक्सचेन्ज सञ्चालकको ३० लाख २३ हजार २०८ रुपैंया, आइफोन मोवाइल, लाइसेन्ससहितको झोला लुटी फरार भएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुलाई कपनबाट बुधवार पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोग भएको ३ वटा मोटरसाइकल र विभिन्न ब्राण्डका मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरुलाई थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं टेकु पठाएको एसपी कोइरालाले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *