पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शुरु

भक्तपुर, पुस २८
पुष्पसदन अन्तराष्ट्रिय विद्यालय चेस च्याम्पियन शनिवारबाट किर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यामिक विद्यालयमा शुरु भएको छ । पुष्पसदन आमाविले आयोजना गरेको खुल्ला विद्यालय स्तरीय च्याम्पियनसिपमा यु–११, यु–१३ र यु–१५ छात्र छात्राले प्रतिष्पर्धा गरिरहेका छन ।
च्याम्पियनसिपको पहिलो दिन सम्पन्न भएका दुई चरणका खेलपछि यु–१५ छात्र तर्फ हिल टाउन सेकेण्डरी स्कूलका रसिल महर्जन २ अंक जोडेर पहिलो स्थानमा उभिएका छन् । समान २ अंक बनाउदै अन्नपूर्ण सेकेण्डरी स्कूलका आयुष बोहरा, भारत सिक्किम चेस एशोसियसनका अभनिष प्रधान, त्रियोग हाई स्कूलका सक्रिट कुईकेल, आयोजक पुष्पसदन स्कूलका सागर सुप्रभ श्रेष्ठ, बज्र एकेडेमीका विभव जोशीले संयुक्त अग्रस्थान हासिल गरेका छन् ।
यस्तै पेभेलियन चेस एकेडेमीका स्पर्श सारावगी, हिमालयन चेस एकेडेमीका रिनछेन डोम्जोन, आशिर्वाद थापा, त्रियोग स्कूलका सईस घिमिरे र ललितपुर चेस एकेडेमीका सहर्ष श्रेष्ठले अग्रता कायम गर्न सफल भएका छन् ।
यु–१५ छात्रा तर्फ आयोजक पुष्पसदनका सबनम रिजाल २ अंकका साथ अगाडि रहेकी छिन् । उनीसँगै त्रियोग स्कूलका कृपा बेलबासे, सिक्किमका डेसियल ओङ्गमु भुटिया र हिमालयन चेसका प्रज्ञा पन्त समान अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल बनेकी छिन् ।


प्रतियोगितामा यु–१३ समूह छात्र तर्फ ज्ञानोदय बालबाटिकाका प्रविर केसि, सिक्किमका निरव ढकाल लगायत १४ जना खेलाडीले संयुक्त अग्रता हासिल गरेका छन् । यु १३–छात्रा विधामा सिक्किमका मानश्वी आचार्यले २ अंक जोडेर अगाडि रहेकी छिन् भने मनकामना सेकेण्डरी स्कूलका प्रिसिअस अधिकारी, पेभेलियन चेस एकेडेमीका नेलिसा ओझा, बिएन एकेडेमीका बिविषा तामाङ्ग र त्रियोग हाई स्कूलका नोएल थापाले संयुक्त अग्रता लिएका छन् ।
यु–११ छात्र विधामा ग्रिनल्याण्ड स्कूलका सुलभ पन्थीसँगै अन्य १५ जना २ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् । यस्तै छात्रा यु–११ तर्फ सिक्किमका पालक अग्रवाल, हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ, अन्नपूर्ण सेकेण्डरीका ओजस्वी श्रेष्ठ, त्रियोग स्कूलका श्रीयश्री तुलाधर र कस्यप एकेडेमीका प्रशन्ना चौधरीले २ अंकका अग्रता लिएका छन ।
प्रतियोगितामा नेपालका २३६ जना तथा भारतका ११ जना खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन । तिन दिन सम्म चल्ने स्पर्धा ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सेमि क्लासिकल विधा अन्तर्गत फरक उमेर समूहका विजेता खेलाडीले ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट १० स्थान ओगट्ने खेलाडीले पनि मेडल हात पार्ने छन् ।
यसअघि प्रतियोगिताको आयोजक पुष्पसदन आमाविका अध्यक्ष महेश श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *