पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन

भक्तपुर, माघ २७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो ।
उहाँले मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उहाँले भन्नुभयो, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।’ उहाँले कर्मचारीले काम गर्न खोजेको भएपनि मुर्त रुपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘प्रक्रियामा रहेका कार्यक्रमहरु छिटो अघि बढाउन प¥यो’ मन्त्री पौडेलले भन्नुभयो,‘घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस् ।’ उहाँले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखहरुलाई निर्देशन पनि दिनुभयो । ‘मन्त्रालयमा समस्या श्रृजना हुनुभनेका चुनौति हो ।’ मन्त्री पौडेलले भन्नुभयो, ‘समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ ।’
मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तियमा ३८.८९ प्रतिशत, पुँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तिय तर्फ ३ प्रतिशत रहेको छ । यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीय तर्फ २.८२ प्रतिशत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *