पलेशालाई कांग्रेसको ५ लाखसहित सम्मान

भक्तपुर, भदौ २३
काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्धनेलाई आइतवार नगद ५ लाखसहित सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पलेशासहितको टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
कांग्रेसले पलेशालाई ५ लाख, प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित गरेको हो । कांग्रेसले व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
सो अवसरमा सभापति देउवाले नेपाली छोरी पलेशाले पारा ओलम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।
उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सभापति देउवाले पलेशाका परिवार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय पारालिम्पिक कमिटी– नेपाललाई पनि धन्यवाद व्यक्त गरे ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुद मार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउँदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए । उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नु पर्ने बताउदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *