पत्रकार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले लगाए ताला

भक्तपुर, असार १५
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियनले शुक्रवार राती ताला लगाएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने पूर्व सन्ध्यामा प्रेस युनियनले मतदाता नामावलीमा विमत्ती जनाउँदैं ताला लगाएको हो ।
महासंघले विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेकोले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।
महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चनमा गएको भन्दै नेपाल प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शुक्रवार राति साढे १० बजे तालाबन्दी गरेको युनिनयनका महासचिव दिलिप पौडेलले बताउनुभयो ।
“नेपाल पत्रकार महासंघको सदस्यता वितरणप्रति महासंघका शाखा र प्रदेशहरूले टुंग्याएर पठाएको थियो । तर, केन्द्रले जिल्ला शाखा, प्रदेश शाखा र प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन प्रक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको हो,” महासचिव पौडेलले भन्नुभयो ।
उहाँले युनियनले यस घटनाप्रति घोर भत्सर्ना गर्दै महासंघको केन्द्रीय नेतृत्वको जबरजस्ती कब्जाको नीति कायम राखेसम्म तालाबन्दी कायमै रहने बताउनुभयो ।
महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्या विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनका महासचिव पौडेलले चेतावनी दिनुभयो । “पत्रकार महासंघलाई फेरि पनि महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह छ । तर यदि यो अन्तिम आग्रहलाई पनि बेवास्ता गरे महासंघको निर्वाचनको प्रक्रियामा भाग नलिइ देशव्यापी आन्दोलनमा उत्रिन्छौं ।”
उहाँले महासंघको निर्वाचन गराउनका लागि बनेको पुर्वअध्यक्षहरूको निर्देशक समितिले आफ्नो हैसियत बिर्सिएर कुनै राजनीतिक दलको भेलामा जाने र फेरि महासंघमा आएर क्रियाशील पत्रकारहरूलाई हटाउने हर्कत गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले महासंघको चुनाव गराउन पुर्वअध्यक्षहरूको निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिका सदस्यहरू आफ्नो हैसियत बिर्सिएर कुनै पार्टीको भेलामा जाने र त्यहाँबाट आएर महासंघलाई कब्जा गर्ने तरिकाले क्रियाशील पत्रकारहरूलाई हटाउने काम गरिहरेका छन्, यसलाई निर्वाचन समितिले वैधता दिन खोजिरहेको छ । यसैको विरोधमा हामीले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु परेको हो ।”
विशेषगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा महासंघका पुर्वअध्यक्ष गोविन्द आचार्यले गृहमन्त्रालयको निर्देशक समिति मार्फत महासंघ कब्जा गर्ने गरी निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको उहाँको आरोप छ ।
“देशभरका क्रियाशील पत्रकारको आवेदन र उजुरीलाई लत्याएर गृहमन्त्रालयको निर्देशक समितिमार्फत निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्नु गलत हो । यसको प्रेस युनियन घोर भत्सर्ना गर्दछ । महासंघ कब्जा गर्ने नीति हामीलाई कदापी स्वीकार्य हुनेछैन र मान्नेछैनौ । विधि र प्रक्रियाबाट सदस्यता कायम गर्न हामी पुनः महासंघसँग आग्रह गर्दछौं,” उहाँले भन्नुभयो ।
युनियनले पत्रकार महासंघका अध्यक्ष र महासचिवलाई गत असार ९ भेटेर सदस्यता विवाद सच्याउन २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *