पत्रकार भरतबन्धुको तस्विर पुस्तक ‘तस्बिरमा नेपाल’ बजारमा

भक्तपुर, मंसिर १०
लेखक तथा पत्रकार भरतबन्धु थापाले ‘तस्बिरमा नेपाल’ फोटो पुस्तक बजार ल्याएका छन् । ‘तस्बिरमा नेपाल’ पुस्तक थापाको छैठौ कृति हो । ‘तस्बिरमा नेपाल’ नामक पुस्तकमा पुर्वमा ओलाङचुङगोलादेखी पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथादेखी दक्षिणमा जनपुर सम्मका तस्बिरहरू समावेश गरिएको छ । सातै प्रदेशको परिचय सहित त्यहाँका प्रमुख स्थानका तस्बिरहरूलाई एउटै कृतिमा समेटेर नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकमा फोटो पत्रकार थापाले विगत दुई दशकदेखी कैद गरेका नेपालको भौगोलिक, प्राकृतिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी तस्बिरहरू समावेश गरेका छन ।
प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रदेशका परिचय सहित प्रदेशलाई चिनाउने तथा प्रदेशका धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्वपुर्ण स्थानका चित्र सहित त्यसको महत्वका बारेमा जानकारी समेत पुस्तकमा उल्लेख गरिएको छ ।
नेपालको सुन्दरता तथा यसको महत्वलाई तस्बिरमार्फत समेट्ने प्रयास गरेको बताउने लेखक थापाले भन्नुभयो, “मेरा पुस्तकमध्ये यो पुस्तक छैठौ पुस्तक हो । यो पुस्तक नेपाल बुझ्नलाई अाँखीझ्याल हुन सक्छ भन्ने मेरो विश्वास रहेको छ ।”
पुस्तकमा एकै स्थानमा बसेर सिंगै नेपाल हेर्न सकिने लेखक थापाले बताउनुभयो । “नेपाल भौगोलिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाका दृष्टिले धनी छ । नेपाललाई प्राकृतिक सुन्दरताको खानी मानिन्छ । संघीय संरचनाअनुसारको वर्तमान नेपालका सातै प्रदेशमा विभिन्न संस्कृति, आस्था र बहुल जातिय मानिसको बसोबास रहेको छ । यी हाम्रा सांस्कृतिक सम्पत्ति हुन् । यी सबै पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण छन् । हामीले विश्वमा नेपालका यिनै विष्यवस्तु मात्र देखाउन सक्याँै भने पनि यहाँको जीवनस्तर उकासिने मात्रै होइन, राज्यको समृद्धिमा समेत कोसेढुंगा साबित हुन सक्दछ,” थापाले भन्नुभयो ।
प्रतिष्ठानले नेपाल चिनाउने बृहत ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने घोषणा दुई वर्षअगाडि नै गरेको थियो । तर कोभिड–१९ का कारण सरकारबाट आवश्यक बजेट प्राप्त नभएपछि ग्रन्थको अनुसन्धान तथा लेखन कार्य पूरा हुन सकेको छैन । तस्बिरबाट मात्र भए पनि सिंगो मुलुक चिनाउने योजना पूरा भएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले बताउनुभयो । ३ सय २० पृष्ठको तस्बिरमा नेपाल पुस्तकको मुल्य २ हजार ७० रुपैया रहेको छ । प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा पुस्तक प्राप्त गर्न सकिने सदस्य सचिव उपाध्यायले बताउनुभयो ।
लेखक थापाले यसअघि वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली(२०१९), कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०) र गन्तव्य मध्यपुर (२०२१) पुस्तक प्रकाशनमा ल्याई सकेका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *