जगत प्रजापति, सुर्खेत, पौष ८
राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रवार शुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा राष्ट्रपति भण्डारीले यदाकदा पत्रकारिता माथि नै प्रश्न उठ्ने गरेको प्रसंग कोट्याउँदैं महासंघले पत्रकारिताको मर्यादामाथि गम्भीर हुनुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताउँदैं राज्यका निकायलाई जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने पत्रकार जगत आफैं पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
उहाँले जनताको राज्यप्रति असन्तुष्टि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टि प्रस्तुत भैरहेको छन’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामी जिम्मेवार बन्नु पर्नेछ । शासनशैली सुधार गर्नुछ । राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ ।’ डिजिटल प्रविधिको उच्चतम् प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको उहाँको भनाइ छ । उहाँले डिजिटल प्रविधिसँगै समग्र पत्रकारिताको विकासमा महासंघले भूमिका खेल्न सक्नुपर्ने खाँचो औंल्याउनुभयो ।

पत्रकारिता लोकतन्त्रको अपरिहार्य पक्ष भएकाले यसले नागरिकको सूचनाको हक प्रत्याभूत गराउन र प्रेस स्वतन्त्रतालाई पूर्ण कार्यान्वयनमा अग्रसर हुनुपर्ने बताउँदैं विगतमा पनि महासंघको कार्यक्रममा सहभागी भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकिकृत समाजवादीका जगन्नाथ खतिवडालगायत विभिन्न दलका प्रतिनिधिहरुले प्रेस मैत्री कानुन निर्माणमा आ–आफ्नो दलले भूमिका खेल्ने बताउनुभयो ।
सो अवसरमा महासंघले विगत ४ वर्षदेखी रोकिएको प्रेस स्वतन्त्रता सेनानीबाट २८ जना वरिष्ठ पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानीत हुने पत्रकारहरुमा भरतराज पोखरेल बर्दिया, राजेन्द्र अर्याल गुल्मी, नरेन्द्रजंग पिटर बाँके, भवानी बराल सुनसरी, कृष्ण लम्साल सुनसरी, अमृता लम्साल काठमाण्डौं, गोपाल बुढाथोकी काठमाण्डौं, राम भगत साह जनकपुर, खिलबहादुर भण्डारी चितवन, नारायण कार्की कास्की, बबिता बस्नेत काठमाण्डौं, पुण्य पौडेल कास्की, कोमलनाथ बराल कास्की छन ।

यसैगरी किशोर श्रेष्ठ ललितपुर, ईश्वरी वाग्ले तनहुँ, धमेन्द्र कर्ण धनुषा, रघु मैनाली झापा, सञ्जय सन्तोषी राई धनकुटा, रामप्रसाद पौडेल दाङ, दामोदर प्रसाद दवाडी काठमाण्डौं, चित्राङ्ग थापा कञ्चनपुर, गगन बिष्ट गुल्मी, विनोद पहाडी रुपन्देही, पिताम्बर ढकाल सुर्खेत, देवेन्द्र चुडाल काठमाण्डौं र प्रभु नारायण बस्नेतलाई पनि प्रेस स्वतन्त्रता सेनानी द्धारा सम्मान गरिएको थियो ।
यसैगरी महासंघले राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका महासंघका पुर्व केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ पत्रकारलाई रु एक लाख नगद राशीको कृष्ण प्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरेको थियो । यस्तै माया थापा सुर्खेतलाई नगद २० हजारसहित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार, कमला केसी लमजुङलाई नगद २० हजार रुपैंयासहित उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रतिक्षा बुढा रोल्पालाई नगद १५ हजार नगद राशीको रत्न केशरी राजभण्डारी स्मृति पुरस्कार, गोविन्द पोखरेल काठमाण्डौंलाई नगद ५० हजारसहितको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरेको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणी सुवेदी, प्रेस सेन्टर नेपालका विष्णु सापकोटा जुगल, महासंघका पुर्वअध्यक्षहरु हरिहर विरही, किशोर नेपाललगायतका वक्ताहरुले महासंघलाई अझ सवल बनाउँदैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारको प्रत्याभुती गराउने सवालमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पाण्डेलगायतले महासंघले गरेका विविध गतिविधिको जानकारी दिँदैं महासंघ मिडिया मैत्री कानुन, श्रमजिवि पत्रकारहरुको पेशागत सुरक्षा र पारिश्रमिक, साना लगानीका सञ्चारमाध्यमहरुको प्रवद्र्धन, पत्रकारहरुको दक्षता बृद्धिलगायतका कार्य गर्दै आइरहेको बताउनुभयो ।
Leave a Reply