न्युजिल्याण्ड पठाई दिन्छु भनी ६३ लाख ठगी गरेको अभियोगमा युवती पक्राउ

भक्तपुर, असार २२
न्युजिल्याण्ड पठाई दिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम उठाई ठगी गरेको अभियोगमा प्रहरीले एक २७ वर्षिया युवतीलाई पक्राउ गरेको छ । सिन्धुलीको दुधौल नगरपालिका–१ बैका घर भई हाल काठमाण्डौं तिनकुने बस्ने नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले मंगलवार नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने २७ वर्षिया शोभा पौडेललाई कपनबाट पक्राउ गरेको हो ।
पौडेलले बोगटीसहित ९ जनासँग जनही १२ लाख ५० हजारका दरले कुल ६३ लाख २० हजार उठाएको काठमाण्डौं उपत्यका अपराध महाशाखाले जनाएको छ । पौडेललाई वैदेशिक रोजगार विभागको अनुरोधमा पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
पौडेलले बोगटीसहित ९ जनालाई न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँको प्रतिष्ठित कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै रकम उठाएको विभागको पत्रमा उल्लेख भएको एसपी आचार्यले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *