नेपाल बौद्ध परियत्ति शिक्षाको ६० औं दीक्षान्त तथा पुरस्कार वितरण

न्यूजअफ । जेठ २१ गते, काठमाण्डौ ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५६६ सालको ६० औं दीक्षान्त तथा पुरस्कार वितरण समारोह हिजो विश्वशान्ति विहार, मीनभवन, काठमाण्डौमा सम्पन्न भएको छ ।
परियत्ति सद्धम्म कोविद उपाधिमा प्रथम हुनुभएका प्रशान्त देव शाक्य र परियत्ति सद्धम्म पालक उपाधिमा बोर्डप्रथम हुनुभएका सुनीता तुलाधर शिल्पकार लगायत अन्य कक्षा १ देखि १० सम्म बोर्डमा आउन सफल भएका विद्यार्थीहरुलाई उक्त समारोहमा ने.बौ.प.शि. का शिक्षाध्यक्ष एवं अ.ने.भि. महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले स्वर्ण, रजत तथा कास्य पदक प्रदान गर्नुभएको थियो ।
उक्त समारोहमा मन्तव्य राख्नुहुँदै शिक्षाध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले सिकेका ज्ञानहरु आचरणमा ल्याई आफ्नो जीवन सफल गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परियत्ति शिक्षाको अध्ययनले सम्पूर्ण दुःख निर्मूल गर्न सिक्ने शिक्षा भगवान बुद्धले दिनुभएको उपदेश हो र यो सम्पूर्ण मानवजातिका लागि नभई नहुने शिक्षा हो भन्नुभयो ।

समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले परियत्ति शिक्षाको दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा अत्यन्त सन्तोष लागेको बताउनुहुँदै प्रचलित मूल धारका शिक्षामा यति धेरै हामी डुब्यौं कि अरु शिक्षा प्राणली पनि छन् भन्ने कुरा नै हामीले बिर्सेको अवस्था छ । आफू को हो भन्ने कुरा थाहा पाएमा उसले प्राप्त गरेका ज्ञानको सही सदुपयोग गर्न सकिने तर यी कुराहरु मूलधारको शिक्षा प्रणालीले सिकाउन सकिरहेको छैन । त्यसैले बौद्ध शिक्षा लगायतका शिक्षा प्रणालीलाई कसरी सन्तुलित रुपमा पाठ्यक्रममा समावेश गरी लान सकिन्छ भनी छलफल भइरहेको र यसका लागि परियत्ति शिक्षाका पदाधिकारीहरुसँग निरन्तर सम्पर्कमा रहने वचन उहाँले दिनुभयो ।


ने.बौ.प.शि.का सचिव एवं पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक प्रकाशन उपसमितिका संयोजक भिक्षु धर्मगुप्त महास्थविरले भगवान बुद्धको उपदेश आफ्नै भाषामा अनुवाद सहित संग्रह गरेका कारण चाइनिज, बर्मीज आदि भाषाहरु धेरै विकास भएको उल्लेख गर्नुभयो । साथै कोरियामा काठमा कुँदिएको तथा म्यानमारमा सिंगमरमरमा कुँदिएको तिपिटक ग्रन्थ हेर्न विश्वबाट लाखौं पर्यटकहरु जाने गरेको, जसले ती देशहरुको आयस्रोत बढेको तर्फ औंल्याउनु हुँदै तिपिटकबाट आयआर्जन समेत गर्न सकिने उदाहरण दिनुभयो ।


यसवर्षको परियत्ति गतिविधिको प्रतिवेदन ने.बौ.प.शि.का केन्द्रीय परीक्षा नियन्त्रक तथा परीक्षा तथा दीक्षान्त उपसमितिका संयोजक भिक्षु बोधिज्ञान महास्थविरले प्रस्तुत गर्नुहुँदै यसवर्षदेखि परीक्षाको समयतालिकामा हेरफेर भएको र कक्षा २, ३ तथा ९ को पाठ्यक्रमलाई पनि परिमार्जन गरिएको बताउनुभयो ।
त्यस्तै नेपालका लागि म्यानमारका राजदूत ऊ सिन ऊले परियत्ति शिक्षा सबैको लागि आधारभूत शिक्षा रहेको र यसले मानिसको नैतिक आचरण राम्रो बनाउने भन्नुभयो भने परीक्षा तथा दीक्षान्त उपसमितिका सहसंयोजक अमिता धाख्खाले उक्त समारोहका लागि सहयोग गर्नुहुने काठमाणडाै महानगरपालिका लगायत सम्पूर्ण दाताहरू तथा सबैलाई साधुवाद दिनुभएको थियो ।


उक्त समारोहमा शिक्षाध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले पञ्चशील प्रदान गर्नुका साथै परियत्ति प्रतिज्ञाको वाचन पनि गराउनु भएको थियो भने कक्षा १ देखि कक्षा १० सम्म बोर्डमा आएकाहरुलाई पदक, प्रमाणपत्र, चैत्य, पुस्तक तथा नगद पुरस्कारहरु दिइएको थियो । साथै प्रमुख अतिथि एवं अतिथिहरूलाइ मैत्री चिन्ह पनि प्रदान गरिएकाे थियाे ।

यसवर्ष परियत्ति परीक्षामा कूल सहभागी २८९९ परीक्षार्थीहरुमा २६२७ जनाले परीक्षा उत्तीर्ण गरेका थिए ।
परियत्ति प्रतिज्ञा
‘नेपाल बौद्ध परियत्ति शिक्षा अध्ययन गरी मैले भगवान बुद्धको उपदेशहरु सिक्ने मौका पाएँ । यसको लागि अखिल नेपाल भिक्षु महासंघ हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । नेपाल बौद्ध परियत्ति शिक्षाबाट प्राप्त ज्ञानलाई मैले आफ्नो शारीरिक, वाचसिक र मानसिक कर्मले पालन गर्नेछु । मैले यो ज्ञान मेरो परिवार र समुदायलाई पनि सिकाउनेछु । यसरी नै परियत्ति शिक्षाको विद्यार्थी भएको नाताले बुद्धधर्मको विकास र संरक्षणमा सदा संलग्न भई सक्दो योगदान दिने कार्यमा निरन्तर लाग्नेछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *