नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवालाई थप नागरिकमैत्री र व्यवस्थित बनाउने नगर प्रमुख श्रेष्ठको प्रतिवद्धता

भक्तपुर, जेठ १०
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवालाई थप नागरिकमैत्री र व्यवस्थित बनाउने बताउनुभएको छ ।
कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र काङबुक सामसुङ अस्पतालको निमन्त्रणामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा चिकित्सा सेवा क्षमता विकास तथा नयाँ परियोजनाबाट पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न तालिम तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरि शुक्रवार स्वदेश फर्कनुभएका नगर प्रमुख श्रेष्ठले त्यहाँ सिकेका कुरालाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यान्वयन गरी अस्पताललाई थप नागरिकमैत्री र व्यवस्थित बनाउने बताउनुभएको हो ।


उहाँले दक्षिण कोरियामा प्राथमिक स्वास्थ्य उपचार सेवा, बिमा र अस्पतालमा चिकित्सा सेवा अत्यन्त ब्यवस्थित तथा नागरिक मैत्री रहेको पाएको बताउनुभयो ।
“दक्षिण कोरियामा प्राथमिक स्वास्थ्य उपचार सेवा, विमा र अस्पतालमा चिकित्सा सेवा अत्यन्त ब्यवस्थित तथा नागरिक मैत्री रहेको पायौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि भ्रमणका क्रममा सिकेका थप सेवा नागरिक मैत्री र ब्यवस्थित गरि सञ्चालन गर्न यो वर्ष काम गर्ने गरी अगाडी बढ्ने छौ,” उहाँले भन्नुभयो ।


उहाँले मध्यपुर थिमि नगरवासी थप सेवा र सुलभ चिकित्सा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।
नगर प्रमुख श्रेष्ठको नेतृत्वमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. डि के रौशान, अस्पतालका प्शासन प्रमुख सरिता श्रेष्ठ, अर्थ मन्त्रालयका प्रतिनिधिसहितको टोली गत जेठ २ गते साताव्यापी भ्रमणका लागि दक्षिण कोरिया जानुभएको थियो । टोली जेठ ९ गते शुक्रवार स्वदेश फर्किएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *