नेपाललाई कबड्डीमा पायो ऐतिहासिक कांस्य

भक्तपुर, असोज २०
चीनको हाङझावमा जारी १९ औं एसियाडमा नेपालले महिला कबड्डीमा शनिवार ऐतिहासिक कांस्य पदक जितेको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अंकले हराउँदै स्वर्ण जित्यो ।
नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । नेपालले जारी एसियाडको १५औँ दिनमा आएर शनिबार औपचारिक रूपमा महिला कबड्डीमार्फत कांस्य पदक प्राप्त गरेको हो । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अंकले हराएर पदक नजिक पुगेको थियो ।
समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अंकले रोकिएको थियो ।
एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीको खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त छन ।
एसियाडमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौं खेल हो । यसअघि कराते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाइडिङले नेपाललाई पदक दिलाइसकेका छन् । महिला कबड्डीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *