‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ – महामन्त्री थापा

भक्तपुर, साउन २६
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘नेपालमा राम्रो केही छैन’ भन्ने भाष्य निर्माण गरेर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताउनुभएको छ । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानले स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सबै नराम्रो मात्र नभएको दावी समेत गर्नुभयो ।
उहाँले आम नागरिकको चाहना सबै पुरा नभएको वा साचे जस्तो प्रगती हुन नसकेको स्विकार गर्दै त्यसलाई चिरेर अघि बढ्नु पर्नेमा समेत जोड दिनुभयो ।
“मानिसहरुमा देश सक्किसक्यो, हामी भत्किसक्यौं, हामी मक्किसक्यौं । सबै नराम्रो मात्र हुँदैछ, राम्रो केही छैन भन्ने भाष्य निर्माण गरेर अस्थिरता निम्त्याउने प्रयास भइरहेको छ” , उहाँले भन्नुभयो, “वास्तवमा त्यस्तो छैन । सबै नराम्रो मात्र भएको छैन । राम्रा काम पनि भएका छन । हामीले सोचेअनुसार प्रगती गर्न सकेनौं, धेरै गर्न सक्ने थियौं, तर विभिन्न कारणले भएन, तर त्यसो भन्दैमा हामी सक्किसक्यौं, मक्किसक्यौं भन्न चाहिँ मिल्दैन ।”


हाल धेरैजस्तो युवाहरुमा विदेश जाने ट्रेन्ड बढिरहेको उल्लेख गर्दै उहाँले युवा विदेशिनुलाई मात्रै नराम्रो भन्न नमिल्ने बताउनुभयो । “रोजगारी र शिक्षाका लागि त विकशित देशका मानिस पनि अन्य देशमा जाने गरेको उदाहरण पाइन्छ । त्यसैलाई नै नराम्रो भन्न मिल्दैन,” उहाँले भन्नुभयो । थापाले कमाएर वा पढेर नेपाल फर्किन्छु भन्ने सोच्नु सामान्य हिसावले लिनुपर्ने तर सबै बिग्रिसक्यो सोचेर विदेशिनु चाहिँ डरलाग्दो हुने बताउनुभयो ।
उहाँले शहिद परिवार र प्रजातन्त्र सेनानीका परिवारको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ राशीको अक्षय कोष स्थापना गर्ने तयारी गरिरहेको बताउनुभयो । प्रजातन्त्रका सेनानी र शहिदका परिवारले आफ्नो योगदानको प्रतिफल पाउन नसकेको बताउँदै महामन्त्री थापाले उनीहरुलाई स्वास्थ्य र शिक्षाको अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।


हाल पार्टीमा आवद्ध रहेकाहरुलाई पनि भविष्यमा आफ्नो परिवारको अवस्था के होला भन्ने तनाबबाट मुक्त रहनका लागि पनि उक्त अक्षयकोषले मद्दत पुर्याउने महामन्त्री थापाले दावी गर्नुभयो । पार्टी कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका योद्वा, प्रजातन्त्र सेनानी लगायतका सामाग्री समेत राखिने उहाँले जानकारी दिनुभयो
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुरको सामाजिक विकासमा मात्र नभई नागरिकमा राजनैतिक सचेतना बृद्धि गर्ने र कांग्रेसको संगठन विकास बिस्तारमा समेत स्व. कार्कीको योगदान अतुलनीय रहेको बताउनुभयो ।


उहाँले पार्टीका अग्रजको सम्मानमा प्रतिष्ठान स्थापना हुनु र उनीहरुको नाममा सामाजिक कार्य अघि बढ्नुले पार्टी संगठन बिस्तारमा समेत टेवा पुग्ने भएकाले त्यस्ता गतिविधिमा पार्टीको पनि साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री शुरजचन्द्र लामिछाने, स्व. श्याम बहादुरका समकालीन एवं कांग्रेस नेता रामप्रसाद दवाडी, प्रतिष्ठानका अध्यक्ष एवं स्व. श्यामबहादुरका जेष्ठ पुत्र बिष्णुराज कार्की लगायतले स्व. श्याम बहादुरको राजनैतिक र सामाजिक योगदानको चर्चा गर्नुभएको थियो ।


सो अवसरमा प्रतिष्ठानले सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित गणेश आधारभुत विद्यालयका १०८ जना विद्यार्थीलाई स्टेशनरी समान, व्याग लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो । साथै एक सय आठ सातादेखि सरसफाइ अभियान सञ्चालन गर्दै आएको परिस्कृत नेपाल संस्थालाई टिशर्ट, माक्स, ग्लोव्स लगायतका सामाग्री प्रदान गरिएको प्रतिष्ठानका सचिव प्रदिप कार्कीले बताउनुभयो ।


यसैबीच स्व. श्यामबहादुरको स्मृति दिवसकै अवसर पारेर प्रतिष्ठानले आयोजित खुल्ला रक्तदान कार्यक्रममा महिला पुरुष गरी कुल ८८ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको समन्वय र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेस भक्तपुर सभापति एवम् संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री शुरजचन्द्र लामिछाने, प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीलगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *