नेताहरु सिसाको घरमा रहेका छन – पूर्वअर्थमन्त्री पुन

भक्तपुर, साउन ३
पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राजनीतिक दलका नेताहरु सिसाको घरमा रहेको बताउनुभएको छ । प्याव्सन सूर्यविनायक नगरसमितिले बिहिवार आयोजित एसईई सम्मान कार्यक्रममा पूर्व अर्थमन्त्री पुनले सूचना प्रविधिको विकास र पहुँचले गर्दा नेताहरु सिसाको घरमा बसे जस्तै उनीहरुको गतिविधि छर्लङ रहेको बताउनुभएको हो ।
उहाँले नेताहरुका सबै कुरा जनताले बुझिसकेको जिकिर गर्नुभयो । “दलका नेताहरु चौतर्फी देखिने सिसाको घरमा भएकाले उनीहरुको प्रत्येक गतिविधि छर्लंङगै भएको छ, जनताले नियालिरहेका छन्,” उहाँले भन्नुभयो, “नेताहरुको विचार, प्रवृत्ति, उद्देश्य, सोच, बोलाई र काम गराई जनताले मूल्यांकन गरिरहेका छन ।”
राजनीतिमा संक्रमणको प्रभाव र नेताहरुमा शुद्धिकरणको अभावका कारण देशको हरेक क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै उहाँले राजनीतिक दल र नेताहरुबाट शुद्धिकरण शुरु गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो । राजनीतिक दल, नेता र कार्यकर्ताले देशको नेतृत्व गर्ने भएकाले यो क्षेत्र सवल भए मात्र देश सही बाटोमा जाने भन्दै उहाँले रोल मोडलका रुपमा रही हरेक क्षेत्रलाई हौसला र प्रेरणा प्रदान गर्नेगरी काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
देश विकासको प्रचुर सम्भावना रहेको प्रष्ट पार्दै उहाँले दुई तिहाई जनसंख्या संलग्न कृषि क्षेत्रलाई आधुनिकिकरण गरी उत्पादन र आम्दानी बढाउनुपर्ने बताउनुभयो । प्रतिष्पर्धी हुन नसक्ने उद्योग कलकारखानाले उभो नलगाउने जिकिर गर्दै उहाँले आफूहरुको सुझबुझका कारण सिमेन्टमा देश आत्मनिर्भर भएको र निर्यातको चरणमा पुगेको दावी गर्नुभयो ।
नेपालमा पर्यटन र जलश्रोतको उपभोग गरी देशमा सम्मृद्धि ल्याउन सकिने उहाँको भनाइ छ । “पर्यटन र जलविद्युतमा हामीसँग चीन र भारत मात्र होइन कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैन, यो हाम्रो प्रतिस्पर्धी क्षेत्र हो,’’ उहाँले भन्नुभयो, “१८ घण्टा लोडसेडिङ्गमा रहेको देश आफूहरुले नेतृत्व गरेपछि लोडसेडिङ्ग मुक्त मात्र नभई अहिले वार्षिक १८ अर्वको बिजुली भारतलाई बेचिरहेको र ४० मेगावाट बंगलादेशलाई बेच्ने चरणमा रहेको छ ।”
उहाँले नेपालको अर्को प्रचुर सम्भावना बोकेको क्षेत्र सूचना प्रविधिको क्षेत्र रहेको बताउँदैं उहाँले गत वर्ष १ खर्व भन्दा बढीको आइटी सेवा निर्यात गरेको जानकारी दिनुभयो ।
अन्य क्षेत्रमा बिसौंतिसौं वर्ष मिहिनेत गर्दा नपाएको प्रतिफल सूचना प्रविधिको क्षेत्रले केही वर्षमा प्राप्त भएको भन्दै उहाँले भन्नुभयो, “सूचना प्रविधिको निर्यात गर्दा न हामीलाई भारत र चीनको बन्दरगाह चाहिन्छ नत आकाश । त्यसैले, शिक्षालाई सूचना प्रविधि केन्द्रीत गर्नसके सम्मृद्धि सजिलै आउँछ ।’’
उहाँले निजी क्षेत्रलाई हतोत्सायी गराउने कार्य राज्यले नगर्ने तर त्यसो भन्दैमा सार्वजनिक क्षेत्रलाई सुधार गर्न छोड्न नहुने बताउँदैं शिक्षामा पनि निजी क्षेत्रले योग्य नागरिक उत्पादनमा भूमिका निर्वाह गरिरहेको बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले राज्यले सामूदायिक विद्यालयलाई अब्बल बनाउदै निजी क्षेत्रलाई सम्मानजनक बिदाईको लागि सदैव तम्तयार बनाइराख्नुपर्ने बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *