नेकपा (एस) भक्तपुरका अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ

भक्तपुर, असोज ३१
नेकपा एकिकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिई डाँका गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उदयपुर उदयपुरगढी गाउँपालिका ७, घर भई हाल चाँगुनारायण बस्ने ४१ वर्षिय अम्बर बहादुर लामा र संखुवासभा पाँचखपन ८ घरभई हाल काठमाण्डौं जोरपाटी बस्ने ३२ वर्षिय सुवास भन्ने रविन किशोर राई छन ।
उनीहरुको समूहले गत भदौ २५ गते राती ३ बजे बस्नेतको घर कम्पाउण्डको ढोका, घरको मुल ढोका र बस्नेत सुत्ने कोठाको ढोका समेत फोडेर घरका सदस्यलाई पेस्तोल ताकेर डाँका गरेका थिए । सो क्रममा अपहरणको धम्की समेत दिएको थियो । घटनाको बेला बस्नेत काम विशेषले पोखरा गएका थिए ।
प्रहरीले उनीहरुको साथबाट स्पेशल मेड इन इटाली लेखिएको पेस्तोल एक थान, सो पेस्तोलको म्याग्जिन एक थान, गोली २ राउण्ड, खुकुरी एक थान, फलामको रड एक थानलगायत विभिन्न घरेलु औजार बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि सोमवार जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *