नाटकीय खेलमा नेदरल्यान्ड्सलाई टाईब्रेकरमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

भक्तपुर मंसिर २४
खेलको निर्धारित समयमा २–० को आरामदायी अग्रता जोगाउन नसकेको अर्जेन्टिना अन्ततः टाईब्रेकरमा नाटकीय जित निकाल्दै कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा अर्जेन्टिना टाईब्रेकरमा नेदरल्यान्ड्सलाई ४–३ ले पराजित गर्दै विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्याउन लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे भने एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।
पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे भने भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस गोल गर्न चुके ।


यसअघि निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । खेलमा एक समय अर्जेन्टिनाले २–० को आरामदायी अग्रता लिएको अवस्थामा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले लगातार दुई गोल गर्दै नेदरल्यान्ड्सलाई नाटकीय पुनरागमन गराउँदैं खेललाई अतिरिक्त समयमा पठाएको थियो । उनले मैदान प्रवेश गरेको ५ औं मिनेटमा नै गोल गरेका थिए ।
नेदरल्यान्ड्सका लागि खेलको ८३ औं मिनेटमा वुट वेघर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनले स्टिभन बर्घाउसको क्रसमा गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । उनले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हात मुनिबाट गोलमा परिणत भएको थियो ।


त्यसपछि इन्ज्युरी समयको १० औं मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले नै गोल गर्दै खेल बराबरीमा ल्याउनुका साथै खेललाई अतिरिक्त समयमा धकेल्यो । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई बर्घिअसले सिधा छोटो पास खेलेका थिए ।
त्यसअघि रोमान्चक खेल ३५ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । मोलिनाले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । उनले मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको बायाँतर्फ बढ्न लागेको अवस्थामा नेदरल्यान्ड्सको पूरै डिफेन्स लाइन चिर्नेगरी अगाडि पास खेलेका थिए । मेस्सीले अगाडि नहेरी दिएको पास मोलिनाकै पथमा पुगेपछि उनले गोल गरे । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । उनले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेस्सीको यो दशौँ विश्वकप गोल हो । यस गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् ।


टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे ।
मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २–० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे ।
अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । यसअघि ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *