नक्सालको भाटभटेनीबाट करिव २ लाखको सामान चोरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर, बैशाख २३
काठमाण्डौंको नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा चोरी गरी फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भाटभटेनी सुपरमार्केटको भुइँ तलामा रहेको ग्रोसरी विभागबाट सोमवार २ लाख रुपैंया भन्दा बढीको सामान चोरी गरी फरार भएको अभियोगमा प्रहरीले हाल मध्यपुर थिमि बस्ने दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनलाई प्रहरीले मध्यपुर थिमिबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले बताउनुभयो । उहाँका अनुसार श्रेष्ठले रक्सी, चुरोट, काजु, पिस्ता, स्याफ्रान, फिस वेल, आलमण्ड, ग्लेण्डफिडिच लगायतका सामान चोरी गरेका थिए ।
श्रेष्ठले भाटभटेनी सुपर मार्केटबाट ब्लु लेवल मदिरा एक बोटल, ग्लेण्डफिडिच एक थान, ओल्ड दरवार मदिरा एक बोटल, सुर्य चुरोट ३० बट्टा, आलमण्ड (बदाम) १५ किलो, ८०० ग्रामको पिस्ता १२ प्याकेट, ९०० ग्रामको काजु १० प्याकेट, स्याफ्रान २५ थान र फिस वेल ६ थान गरी करिव २ लाख १७ हजार रुपैंया बराबरको सामान चोरी गरेको एसपी बोहराले बताउनुभयो ।
पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाण्डौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *