तान्त्रिक विधियुक्त बोदेको द्यः प्याखँ शुरु

मध्यपुर थिमि, भदौ ६
मध्यपुर थिमि वडा नं. ८ र ९ बोदेमा ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिक विधियुक्त द्यःप्याखँ (निलबाराही देवी गणनाच)शुरु भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलीपल्ट राती अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म दिनरात नचाईने यो प्याखँ गएराती करिव ११ बजेदेखी शुरु भएको हो ।
बोदे द्यः प्याखँले समेत परिचित यो प्याखँ तान्त्रिक विधि विधानयुक्त नाच हो । यसमा कठिन विधि विधान रहेको गुठी नाईके प्रेम चन्द्र अदुवा श्रेष्ठले बताउनुभयो । “यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४÷१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ,” उहाँले भन्नुभयो ।


यो नाचमा एक पटक देवता बनेपछि उनको मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको छ । “देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएका उनको मुकुण्डो देव घरमा राखेर पुजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ,” श्रेष्ठले भन्नुभयो ।
बोदेको द्यः प्याखँमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्धारपाल दुई र गणेश चार गरी १९ जनाको समुह हुन्छ । देवगणका ज्वकुलु (सहयोगी) र बाद्यवाधक गरी सय जना भन्दा बढी व्यक्तिहरु यो प्याखँमा क्रियाशिल हुने श्रेष्ठले जानकारी दिनुभयो । यो प्याखँमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरु नाच्ने गुठीका नाईके श्रेष्ठले बताउनुभयो ।


यो प्याखँ चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । यो प्याखँ पहिलो दिन बोदेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, निलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ । साथै यो प्याखँ फरक दिन र फरक समयमा बोडेको फरक फरक स्थानबाट शुरु गरी बोडेमा प्रदर्शन गरिन्छ ।
यो प्याखँ साक्षात निलबाराही देवी स्वयम्ले सिकाएको जनविश्वास रहेको छ । प्रचलित किवंदन्ती अनुसार निलबाराही देवी मानिसको रुपमा बोदे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई निलबाराही जंगलमा चार दिनसम्म राखेर नाचको सम्पुर्ण विधि विधान सिकाएर पठाए अनुसार यो नाच शुरु भएको जनविश्वास रहेको पाइन्छ ।
साथै यो प्याखँलाई चाहिले आवश्यक सामग्रीसमेत देवी निलबाराहीले नै दिनुभएको भन्ने कथन पनि पाईन्छ । यसको प्रमाणको रुपमा भैरवले लगाउने तामाको माला रहेको छ, जुन माला त्यही धों भन्ने व्यक्तिको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पु¥याउन जानुपर्ने प्रचलन रहेको छ ।


यो प्याखँ कहिले देखि शुरु भएको भन्ने बारे एकिन प्रमाण फेला परेको छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै निलबाराही द्यः प्याखँ शुरु भएको स्थानिय वृद्धाहरु बताउँछन् । अर्को तथ्य अनुसार सुवर्ण मल्ल राजाको पालामा नेपाल मण्डल र काठमाडौं उपत्यकामा मुखुण्डो नाचको प्रचलन शुरु भएको र सोही बेला देखी बोदेमा निलबाराहीको द्यः प्याखँ नाच शुरु भएको मानिन्छ ।
यो प्याखँ परम्परागत जात्रा जस्तै भएकाले जुनसुकै कठिन परिस्थितीमा पनि निरन्तर सञ्चालन हुँदै आइरहेको छ । तर विगतमा कोरोना महामारीमा भने यो प्याखँको सार्वजनिक प्रदर्शन रोकिएको थियो । यो प्याखँ सञ्चालनका लागि विशेषगरी आर्थिक अभाव भएपनि बोदेको पहिचानसँग गाँसिएकाले स्वतः स्फुर्त रुपमा नियमित र निरन्तर सञ्चालन हुँदै आइरहेको श्रेष्ठले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *