झरीले पनि रोक्न सकेन, अरुण थापा स्मृति सांगेतिक कार्यक्रम

भक्तपुर, साउन ५
‘दि शो मस्ट गो अन’, रंगमञ्चमा प्रख्यात एउटा भनाई हो यो । जब रंगमञ्च शुरु हुन्छ, तब जुनसुकै परिस्थितीमा पनि कार्यक्रम रोकिनु हुँदैन भन्ने अर्थमा यो भनाई प्रख्यात भएको हो । कलाकारहरुले पनि परिस्थितीलाई सहज रुपमा लिएर आफ्नो प्रस्तुतीलाई निरन्तरता दिन्छन भन्ने अर्थमा पनि यो भनाई प्रचलनमा छ ।
भक्तपुरमा शनिवार सम्पन्न एक सांगेतिक कार्यक्रममा पनि ‘दि शो मस्ट गो अन’ भनाई चरितार्थ भएको छ । एकातिर वर्षा, अर्कोतर्फ सुमधुर सांगेतिक प्रस्तुती, तर कार्यक्रम रोकिएन । निरन्तर चलिरह्यो ।


गायक स्व. अरुण थापाको २५ औं स्मृति दिवसको अवसरमा भक्तपुर सांगेतिक समाजको आयोजनामा सम्पन्न कार्यक्रमको अन्तिम तिर वर्षा भए पनि न त गायक गायिकाहरुको प्रस्तुत रोकियो, न दर्शक श्रोताहरुले कार्यक्रमस्थल छाडे । झरीको बीच पनि सांगेतिक प्रस्तुती चलिरह्यो, निरन्तर चलिरह्यो ।
भक्तपुर सांगेतिक समाजले विगतका वर्षहरुमा जस्तै शनिवार स्व. अरुण थापाको २५ औं स्मृति दिवसमा उनका समुधर संगीत र गीतमार्फत सम्झेका छन ।


मध्यपुर थिमि नगरपालिका र सिवर्ड इन्टरनेशनल कलेजको सहयोगमा कलेजको प्रांगणमा आयोजित कार्यक्रममा स्व. थापाले गाएका करिव दुई दर्जन गीतलाई विभिन्न गायकहरुले प्रस्तुत गर्नुभयो ।
स्व. थापाको स्वरमा स्वरांकन गरिएको ‘करोडौं मुटुहरु’ बोलको गीतलाई समूह गायन मार्फत शुरु भएको कार्यक्रममा कुमारी लिम्बुले ‘तिमी राम राम’, श्रीजल मधिकर्मीले ‘म रोए पनि तिमि हाँसी दिनु’, विजय कायष्थले ‘चोट के हो, व्यथा के हा’े, शम्भु राजभण्डारीले ‘आँखाको निद’, हरि सुन्दर लाखे श्रेष्ठले ‘लाग्न थाल्यो जीवनमा’, श्रीहरी दाहालले ‘दोष कस्लाई’, श्रेय अगस्तीले ‘अरुसँग नखोज’ र लक्ष्मण पलिखेलले ‘ऋतुहरुमा तिमि’ बोलको गित गाएर स्व. थापाले सम्झँदैं श्रद्धा सुमन चढाउनु भएको थियो ।


यसैगरी मथुरा प्रधानले ‘मेरो गीत सबै’, आश्रय रञ्जितले ‘साँझको जुन सँगैं’, रुची घिमिरेले ‘दुई दिनका’े, रविन थापाले ‘जति माया लाए पनि’, अर्पण विश्वकर्माले ‘यो मनको के भर हुन्छ’ र प्रनिल पलिखेलले ‘भुलेका कथा तिता मीठा’ र मुकुन्द भट्टराईले ‘बरु भुलेछु’ बोलको गीत गाउनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पप गायक ओमविक्रम बिष्टलाई समाजले सम्मान गरेको थियो । नेपालमा पप संगीतलाई श्रोतामाझ परिचित गराउनुभएका बिष्ट अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । उहाँ नेपाल आउनुभएको अवसरमा समाजले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।


उहाँको सम्मानमा कार्यक्रममा पप गायक ओमविक्रम बिष्टको सम्मानमा कुबेर राईले मौनतामा अल्झिरहेको, सकुल अच्छामीले को हो त्यो जस्ले मलाई, राजेश शाहीले मेरो याद अझै आउँछ भने, बिनोदराज ढुङ्गेलले तारा मारङ बजार कि कान्छी र प्रबिन शाहीले आवाज देउ मलाई बोलको गित गाउनुभएको थियो ।
सोही अवसरमा समाजले बाल गायककार अर्पण विश्वकर्मालाई सम्झना खरेल प्रतिभा पुरस्कारले पुरस्कृत गरेको थियो । गायक विश्वकर्माले ‘नेशनल गट ट्यालेन्ट हण्ट’मा उत्कृष्ट प्रस्तुती दिन सफल भएकोमा प्रोत्साहन स्वरुप नगद ५ हजारसहित उक्त पुरस्कारले वरिष्ठ रचनाकार भुषण खरेलले पुरस्कृत गरेको हो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले भौतिक पूर्वाधारको विकास मात्र विकास नभई गीत संगीतको विकास र सांगेतिक कार्यक्रममार्फत प्रतिभावान कलाकार जन्माउनु पनि विकास भएको चर्चा गर्दै नगरपालिकाले यस्ता सांगेतिक कार्यक्रम र कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउने र उनीहरुलाई अवसर प्रदान गर्ने कार्यक्रममा पनि लगानी गर्ने र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


समाजका अध्यक्ष अल्वर्ट बज्रचार्यले समाजले अरुण थापाको स्मृतिमा मात्र नभई अन्य वरिष्ठ गायक गायिकाहरु पनि कार्यक्रम गरिएको जानकारी दिँदैं आगामी दिनमा पनि कलाकारहरुको प्रोत्साहित गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *