जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

भक्तपुर, जेठ १९

चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी दिनुभएको हो ।
प्रवक्ता डा पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो । चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप दिइने छ । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसंख्या रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता भएपछि चीन सरकारले अनुदानमा १० लाख खोप उपलब्ध गराएको हो । सो खोप मध्ये मंगलवार नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज (बुधबार) थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन लागेको छ ।
मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् ।

अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिसिल्ड १० लाख मात्रा र खरीद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *