जितपुरे कार्कीको ‘आज सबैको खाँचो छ’ विमोचन

भक्तपुर, चैत्र १९
कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कवितासंग्रह ‘आज सबैको खाँचो छ’ विमोचन गरिएको छ ।
कार्कीको पहिलो कवितासंग्रहको विमोचन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष श्याम श्रेष्ठ, महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नंं ८ का पुर्व वडा अध्यक्ष पराशर सापकोटाले संयुक्त रुपमा शनिवार विमोचन गर्नुभएको हो ।
वि.सं. २०१३ साल असार १३ गते सुडालको जितपुरमा जन्मिएका कवि कार्की लामो समयसम्म शिक्षण पेशामा आवद्ध थिए । पेशाबाट अवकाशपछि आफूले विभिन्न समयमा फुटकर रुपमा लेखेका कविताहरुलाई एकत्रित गरी संग्रह प्रकाशन गरेको उहाँले बताउनुभयो ।
उहाँले आफूले विगत ४ दशकदेखि लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका कविताहरुको संगालो प्रकाशन गरेको जानकारी दिनुभयो । सञ्चारकर्मी एवम् साहित्यकार हरिसुन्दर छुकांको सम्पादनमा प्रकाशित सो कवितासंग्रहमा कवि कार्कीको सो संग्रहमा ५६ वटा कविता संग्रहित गरिएका छन् ।
संग्रहमा समावेश कविता वाचन गर्दै उहाँले सबै क्षेत्रमा अभावै अभावको अवस्था हुँदा समाजमा विभिन्न समस्या देखिएकोमा चिन्ता जनाउँदै सोही विषयलाई समयमै खबरदारी गर्न ‘आज सबैको खाँचो छ’ प्रकाशन गरेको बताउनुभयो ।
संग्रह विमोचन गर्दै नगरप्रमखु जीवन खत्रीले कवि कार्कीका कविताहरु सान्दर्भिक हुनुका साथ समाजको ऐनाको रुपमा आएको चर्चा गर्नुभयो । उहाँले कार्कीका कविताहरुले सामाजिक, शैक्षिक, वातावरणीय क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रका लागि सचेत गराउने प्रकृतिका रहेको बताउनुभयो ।
‘उहाँका कविताहरु समाजलाई सचेत गराउने खालका छन्, यसले समाजका सबै वर्ग र क्षेत्रलाई पथप्रदर्शकको विम्ब बोकेको छ’, उहाँले भन्नुभयो, ‘साहित्यमार्फत् समाज रुपान्तरण गर्न सकिन्छ, साहित्य समृद्धिको प्रतीक हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।’
वाटिटा स्रष्टा एवम् महेन्द्रग्राम माविका शिक्षक अम्बिका धितालले कवितासंग्रहका साथै कवि कार्कीको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभयो । उहाँले कवि कार्कीका कविताहरुमा प्रकृति प्रेम, राजनीतिप्रति व्यङ्ग्य, विकृतिविसंगतिमाथि विम्व र प्रतीकमार्फत् खबरदारी पाइएको बताउनुभयो ।
वोजिनी नगरकोट रिसोर्टले प्रकाशकीय दायित्व बोकेको सो कृतिको विमोचनमा रिसोर्टका अध्यक्ष दामोदार दंगालले साहित्यकारलाई उत्साहित गर्ने प्रयासका साथै रिसोर्टको संस्थागत उत्तरदायित्व निर्वाहका लागि कवितासंग्रहको दायित्व बहन गरेको बताउनुभयो ।
कविता संग्रहका सम्पादक हरिसुन्दर छुकांले कविता संग्रह प्रकाशनको पृष्ठभूमिका साथै कवि कार्कीको शैक्षिक र साहित्यिक व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
१०४ पृष्ठको सो कवितासंग्रहको मूल्य २२५ रुपैयाँ राखिएको छ । सो कवितासंग्रहमा कवि हरिहर तिमिल्सिना र विराट नेपालभाषा साहित्य तः मुंज्याका अध्यक्ष एवम् लेखक महेन्द्रगोपाल कर्माचार्यको भूमिका समेटिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *