चोर दोष मुक्तिका साथै दशै भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

लक्ष्मी गारु, भक्तपुर, भाद्र २५
भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस भन्ने कामनासाथ आउँदो दशै भित्र्याउन चथाः गणेश र चन्द्रमाको पुजा गरी चथाः पर्व मनाउँदैछन ।
भगवान गणेशको जन्म दिन मानिएको चतुर्थीको दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पुजा गर्न चथाः गणेशको तस्बिर सहित पूजामा चाहिने सामाग्रीहरु भित्र्याउने गर्छ ।
गणेश चतुर्थीलाई नेवार समुदायले दशैं भित्र्याउने चाडको रुपमा समेत लिने भएकाले यस दिनलाई दशैंको प्रारम्भ पर्वको रुपमा लिइन्छ । यस दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन रहेको छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाईन्छ । आजकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पुजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत रहेको छ ।


यस दिन राती नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पुजा गर्ने गरिन्छ । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैबद्य, पंचपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको काँचो केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्ला समेत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ । साथै पूजामा ध्यूमा भुटेको आरुको वियाँ, दुवो, कालो तिलको लड्डु, मुला खाइसी(भोगते जस्तो एक प्रकारको फल) चढाउँछन् । चथा गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घर परिवारका सबै सदस्यहरु बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबैजना बसेर चथा गणेशलाई चढाएको पंचपकाव, काँक्रा, फलफुल र भुटेका गेडागुडी प्रसादको रुपमा खाने चलन रहेको छ । प्रसाद खाइसकेपछि दहिको सगुन सहितको भोज खाइन्छ ।
यस दिन चथा गणेशको पूजा गरे खुशी मिल्ने, जीवनमा चिताएको मनोकाक्षा पुरा हुनुका साथै दशै राम्रोसँग मनाउन पाउने लोक मान्यता रहेको छ । चन्द्रमालाई विधि पूर्वक पुजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ ।
नेवार समुदायमा चथाको दिन गणेश र चन्द्रमाको पुजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र पुजा गरी प्रसाद खाएर घर भित्र जाने प्रचलन रहेको छ ।
राती चन्द्रमाको पुजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो ।
पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन । गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो।
त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो । त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे । चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अब देखी भाद्र शुक्ल चौथीको एक दिन बाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए । साथै गणेशले राती विधि पूर्वक चन्द्रमाको पुजा गरे सो दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राती चन्द्रमाको पुजा गर्ने परम्परा बसेको लोककथन पाईन्छ ।
आजै ईन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *