चुनावी प्रचारका लागि भक्तपुरमा दलहरु घर दैलोमा

भक्तपुर, कार्तिक १८
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ । निर्वाचन आचार संहिताले प्रचार प्रसारका लागि घर दैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरुले शुक्रवारबाट घर दैलो कार्यक्रम शुरु गरेको हो ।
निर्वाचन आचार संहिताले कार्तिक १८ गते देखी घरदैलो मार्फत निर्वाचनको प्रचार प्रसार गरी मत माग्न पाउने व्यवस्था गरेको छ । सोही अनुसार भक्तपुरका सत्ता गठबन्धन, नेकपा एमाले र नेमकिपालगायतका दलहरुले घरदैलो कार्यक्रम शुरु गरेको हो ।
भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनले मध्यपुर थिमिको शंखधर चोकबाट घरदैलो शुरु गरेको नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिले बताउनुभयो । शंखधर चोकबाट शुरु भएको घरदैलो बायरिया लाँ, हनुमन्ते पुल भई पुनः शंखधर चोक, बालकुमारी, सुंगाटोल, दथुटोल, लाय्कु दुई पोखरी, भुलाँखेल, नासननी, चपाचो, गुंगचिवा, बहाखाबजारमा पुगी सम्पन्न भएको नगर सभापति प्रजापतिले जानकारी दिनुभयो ।


घर दैलो कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुलर्भ थापा, प्रदेश सभा भक्तपुर क्षेत्र नं. २ (ख)का नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र समानुपातिक उम्मेदवारहरुले जनताको घर दैलोमा पुगेर प्रत्यक्ष भेटघाट गरी मत माग्नुभएको थियो ।
सत्ता गठबन्धनले शुक्रवार नै सूर्यविनायक नगरपालिका १ सिरुटारमा घर दैलो कार्यक्रम मार्फत निर्वाचनको प्रचार प्रसार गरेको नेपाली कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले बताउनुभयो ।

त्यसैगरी नेकपा एमालेले पनि मध्यपुर थिमि वडा नं. ६ बाट घरदैलो शुरु गरेको छ । भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका उम्मेदवार तथा एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेत, प्रदेश सभा भक्तपुर क्षेत्र नं. २ (ख) का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदरसहितको टोलीले वडा नं. ६ का बहाखाबजार, गुंगचिवा, गार्चा, पाटी बिहारलगायतका क्षेत्रमा जनताको घर दैलोमा पुगेर मत मागेका थिए ।


वडा नं. ६ को गुंगचिवाबाट शुरु भएको घर दैलो चापाचो, पाटी विहार, कुण्डोल, प्रहरी वृत्त थिमि, बहाखाबजार हुँदैं गुंगचिवामा पुगेर समापन भएको नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो ।
त्यस्तै नेकपा एमालेले शुक्रवार नै सूर्यविनायक नगरपालिका वडा ३ बालकोटमा पनि घर दैलो कार्यक्रम आयोजना गरेको थियो । वडा नं. ३ को ब्रम्हनगरबाट शुरु भएको घर दैलो कार्यक्रमले गणेश आधारभुत विद्यालय, पानी ट्यांकीलगायतका स्थानको परिक्रमा गरेको अध्यक्ष देउजाले बताउनुभयो ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीले मध्यपुर थिमि ८ बोडेमा शुक्रवार घरदैलो कार्यक्रम आयोजना गरी मतदाता समक्ष मत मागेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *