चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण

भक्तपुर, माघ २७
भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको छ । नगरको वडा नं. ४ हुचीढुंगास्थित अस्पतालमा चाँगुनारायण फाउण्डेसनको सहयोगमा अक्सिजन प्लाण्ट जडान गरिएको हो ।
कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमै संक्रमितको ज्यान जान थालेपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार अस्पतालले १ करोड ५७ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाएको थियो ।
सोही योजना अन्तर्गत नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको थियो । प्लान्टका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम ब्यहोर्ने समझदारी भएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।


अक्सिजन प्लाण्ट सञ्चालनका लागि बिजुलीको थ्रीफेज लाइनसहित ३ सय केभी क्षमताको ट्रान्सफर्मर जडान भइसकेको जानकारी दिँदैं नगरप्रमुख मिश्रले भन्नुभयो, ‘अहिले प्लान्ट सञ्चालन गर्नका लागि सबै प्राविधिक झन्झट सकिसकेको छ, हामीले यसको सफल परीक्षण पनि गरेका छौं ।’
फाउण्डेसनका अध्यक्ष मणिराज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थासँग समन्वय गरी प्लाण्ट स्थापनाको काम अघि बढाइएको बताउँदै लामो समयको गृहकार्यपछि प्लाण्ट सञ्चालन गर्न सफल भएको जानकारी दिनुभयो ।
चाँगुनारायण नगर अस्पताल वि. सं. २०७७ साल मंसिरमा उद्घाटन भएको र सोही वर्षको पुस १५ गतेबाट सञ्चालनमा आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *