‘घ्यचाकु सँल्हु’ पर्व मनाउँदैं, भक्तपुरको तिल माधव नारायणमा विशेष मेला

भक्तपुर, माघ १
माघे संक्रान्तिको अवसरमा आज काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भेगमा बस्ने नेवार समुदायले ‘घ्यचाकु सँल्हु’ पर्व मनाउँदैं छन । कतै यसपर्वलाई ‘हाम्ह सँल्हु’ पनि भनिन्छ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन अनुसार नेवार समुदायले माघे संक्रान्तिलाई ‘घ्यचाकु सँल्हु’ र ‘हाम्ह सँल्हु’ नामले यो पर्व मनाउने गरेको हो ।
नेवार समुदायमा खाद्यवस्तुको नामबाट चाडपर्वको नामाकरण गर्ने प्रचलन अनुसार माघे संक्रान्तिलाई पनि ‘घ्यचाकु सँल्हु’ र ‘हाम्ह सँल्हु’ नामाकरण गरिएको संस्कृतिकर्मीहरु बताउँछन । यसदिन नेवार समुदायले घ्यू चाकुमा तिल मिसाएर खानुका साथै मास र तिल राखेर तताएको तेल शरीरमा लगाउने प्रचलन रहेको छ ।
नेवार समुदायले यसदिन बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै भोज गर्दछन । भोजमा विशेषगरी घ्यू चाकुसँगै तिल राखेर बनाएको लड्डु, पालुंगो, तरुललगायतका परिकार तयार हुन्छ । त्यसपछि घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै शरीरमा तेल लगाउँछन । साँझमा भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् ।


ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
शिशिर ऋतुको चिसो मौसममा पर्ने यसपर्वको दिन घ्यू, चाकु र तिलसँगै तरुण, सख्खर खण्ड, पिँडालु, तिलको लड्डु आदीको सेवनले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास समेत गरिन्छ ।
यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा अवस्थित तिलमाधव नारायणको मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घ्यू सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे संक्रान्तिका दिन नारायणको मूर्तिभरि घ्यू दलेर तिल चढाउने र उक्त घ्यू तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ ।
यस्तै भक्तपुरमा माघे संक्रान्तिको दिन दिपंकर बुद्धको विशेष पुजा गरी सम्यक दान पर्व मनाउँछन । सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरुले ऐतिहासिक एवं साँस्कृतिक रुपले मनाइने एक मौलिक पर्व हो । विभिन्न स्वरुपका बुद्ध र बिहारका गुरु पुरोहितलाई आ–आफ्नो मनोकांक्षा पुरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक दान पर्व हो ।

सम्यक दानका लागि बिहान सबेरै भक्तपुरको क्वाठण्डौ प्रशन्नशील महाविहार साकोथा, चतब्र्रम्ह महाविहार गोल्मढी, मङ्गल धर्मदीप विहार इटाछें, जयकिर्ति महाविहार (थथुवहि) र भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्तिमहाविहार (थिमि)का उपाध्यायगुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुर जयकिर्ति महाविहार थथुवही स्थित भुइँख्यल क्षेत्रमा जम्मा गरिन्छ ।
सम्यक दानमा भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफुल र मिठाई दान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ । त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धान, चामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस पर्वमा दान गर्ने दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु, शाक्य र बज्राचार्य भन्टेहरुलाई भोजन, अन्न र दक्षिणा दान गरी भब्य रुपमा मनाउँदै आएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष सम्यक दान पर्वलाई सामान्य औपचारिकतामा सिमित गर्ने भक्तपुर सम्यक महादान व्यवस्थापन समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *