घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने – अध्यक्ष लोहनी

भक्तपुर, साउन १३
नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने बताएको छ । महासंघले शुक्रवार भक्तपुरको रानीकोटमा आयोजित पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा अध्यक्ष भेषराज लोहनीले घरजग्गाको खरिद बिक्रि व्यवस्थित र मर्यादित बनाई राजश्व असुलीमा समेत बृद्धि गर्न शेयर मार्केटको मोडलमा लैजानुपर्ने बताउनुभएको हो ।
उहाँले पछिल्ला केही वर्ष यता व्यक्तिगतरुपमा घरजग्गाको कारोवार गर्ने व्यवसायीका कारण उपभोक्ता र बिक्रिकर्ता ठगिने गरेको र उनीहरुले गरेको आम्दानीको राज्यलाई कर पनि प्राप्त नहुने गरेकोले घर जग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्नेमा महासंघले जोड दिएको बताउनुभयो ।
उहाँले रियल स्टेट कम्पनीहरुले एउटा घडेरीमा घर बनिसकेपछि उपभोक्तालाई चाहिने सम्पूर्ण सुविधासहितको घडेरी विकास गर्ने भएकाले त्यस्ता कम्पनीहरुले विकास गरेको घडेरी अन्यको दाँजोमा केही महँगो पर्ने गरेको बताउनुभयो ।
उहाँले ठूला ठूला व्यवस्थित विकसित शहर निर्माणमा सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्ने सुझाव समेत दिनुभयो । उहाँले शहर विकासमा नीजि क्षेत्रलाई जिम्मेवारी दिए विदेशी पुँजी ल्याउन सकिने र नयाँ नयाँ सिप समेत भित्र्याउन सकिने बताउनुभयो ।
“कुनै स्थानमा नयाँ शहर विकास गर्ने हो भने त्यहाँ निश्चित मापदण्डसहितको नीति निर्माण गरी नीजि क्षेत्रका रियल स्टेट कम्पनीलाई साझेदार बनाउन सकियो भने विदेशी पुँजी सँगसँगै नयाँ नयाँ सिप भित्रिनुका साथै यहाँका जनशक्तिको क्षमता विकास र दक्षता विकासमा समेत टेवा पुग्न सक्छ,” उहाँले भन्नुभयो ।
उहाँले सरकारले घरजग्गाको कारोवार कम्पनी मार्फत गर्ने नीति ल्याएपनि ऐन नियम निर्माण गर्न नसक्दा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले घरजग्गा कारोवारलाई चलायमान बनाउन राज्यका ७५३ वटै स्थानीय तहले छिटो भन्दा छिटो भूउपयोग नीति निर्माण गरी सो सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिनुभयो ।

तस्विर सौजन्य ः आशिष पौडेल

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *