गुण्डुमा यातायात कार्यालय निर्माण तत्काल शुरु गर्नुपर्नेमा भक्तपुर सांसदहरुको जोड

भक्तपुर, फागुन १२
भक्तपुरका संघीय र बागमती प्रदेशका सांसदहरुले गुण्डुको हाके डाँडामा प्रस्तावित यातायात कार्यालय यथाशिघ्र निर्माण कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाको संयोजकत्वमा शनिवार थापाको सचिवालयमा बसेको सांसदहरुको बैठकले हाके डाँडामा यातायात कार्यालय निर्माणमा देखिएको अवरोध हटाउन संयुक्त पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । साथै बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सबै राजनीतिक पार्टीका तर्फबाट संयुक्त रुपमा अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ७ गुण्डुको हाके डाँडामा प्रस्ताव गरिएको यातायात कार्यालय भवन निर्माण अहिले अलपत्र परेको छ । निर्माण गर्ने ठेक्का समेत लागिसकेको र ठेकेदारले मोविलाइजेशन खर्च समेत भुक्तानी लिई सकेपनि हालसम्म सो स्थानमा यातायात कार्यालय निर्माणको काम शुरु हुन सकेको छैन ।
सो भवन निर्माणका लागि हाल जग्गाको भोगाधिकारको समस्या देखिएको छ । बागमती प्रदेशको यातायात मन्त्रालयले जग्गाको भोगाधिकार नलिई बोलपत्र गरेको पाईएको छ ।


जिल्लाभित्रको विकास निर्माणले सबै जनता लाभान्वित हुने भएकोले राजनीतिक प्रतिष्पर्धा भएपनि विकास निर्माणका सवालमा एक ठाउँमा उभिनुपर्छ भन्ने मान्यताले गुण्डुको यातायात कार्यालय निर्माणमा सबै एकमत भएको सांसद दुर्लभ थापाले बताउनुभयो ।
जग्गाको भागाधिकार टुंगो नहुँदै ठेक्का लगाउनु, ठेकेदारले मोविलाइजेशन खर्च भुक्तानी लिनु र रकम लिएर काम नगर्नुमा अनियमितता भएको हुन सक्ने भन्दै सांसद थापाले राज्यले सबै प्रक्रिया नपुगी किन तत्कालीन समयमा टेण्डर गर्यो भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
बैठकमा प्रतिनिधिसभा सदस्य रमा कोइराला पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी संसदिय दलका सचेतक एवम् सांसद सन्तोष परियार, बागमती प्रदेशसभा सदस्य किरण थापा, सुरेश श्रेष्ठ, तत्कालिन गुण्डु गाविसका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, नेपाली काग्रेस सूर्यविनायक नगर सभापति निशान ढुगेललगायतको सहभागिता रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *