गुण्डुमा यातायात कार्यालय निमार्ण गर्न कांग्रेसको माग

भक्तपुर, माघ २५
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सूर्यविनायक नगरपालिकाको गुण्डुमा प्रस्तावित यातायात कार्यालयको निर्माण कार्य तुरुन्त शुरु गर्न माग गरेको छ । क्षेत्रीय सभापति भेषबहादुर कार्की नेतृत्वको टोलीले सोमवार सहरी विकास तथा पूर्वाधार कार्यालय, काठमाण्डौंका प्रमुख रमा मैया मानन्धरलाई ज्ञापनपत्र बुझाउँदैं गुण्डुमा यातायात कार्यालय निर्माणको माग गरेको हो ।
टोलीले कार्यालयमा प्रमुख मानन्धर नभेटिएपछि ज्ञापनपत्र दर्ता गराएर आएको जनाएको छ । सो अवसरमा सभापति कार्की र प्रमुख मानन्धरबीच टेलिफोनमा कुराकारी भएको छ । टेलिफोनमा प्रमुख मानन्धरले अमुक व्यक्तिहरुले मौखिकरुपमा निर्माण कार्य नगर्न भनी रोक लगाएकाले हाल सो कार्य अघि नबढेको जानकारी दिनुभयो ।
उहाँले जग्गाको स्वामित्व मन्त्रिपरिषदले निर्णय गरेर यातायात कार्यालयलाई दिए सहज हुने बताउँदैं नगरपालिकाको सिफारिसको आधारमा भएपनि यातायातको कार्यालय निर्माणको प्रक्रिया अघि बढाउँदा केही व्यक्तिहरुले मौखिकरुपमा रोक्न माग गरेपछि हाल प्रक्रिया रोकिएको जानकारी दिनुभयो ।
टेलिफोन वार्ताका क्रममा सभापति कार्कीले पटक पटक मौखिकरुपमा रोक्न माग गर्ने को हो भनी जानकारी दिन माग गरेका थिए । कार्कीले पटक पटक एउटै विषयमा अडान लिएपछि प्रमुख मानन्धरले झोंक्किँदै त्यसको जानकारी दिन आवश्यक नभएको जवाफ दिनुभएको थियो ।
‘गुण्डुमा बन्न लागेको यातायात कार्यालय कसले, किन कुन प्रयोजनका लागि रोक्यो भनेर सोध्दा तपाईंलाई किन भन्ने ? भन्ने जवाफ फर्काइन’ सभापति कार्कीले भन्नुभयो । उहाँले कार्यालय प्रमुख मानन्धरले गैरजिम्मेवार कुरा गरेर पन्छिन खोजेको र गुण्डुमा सो कार्यालय बनाउन नखोजेको आरोप समेत लगाउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *