गणेशमानको प्रतिमा अनावरणका लागि राष्ट्रपति पौडेल असोज २ गते भक्तपुर आउने

भक्तपुर, भाद्र २०
राष्ट्रपति रामचन्द्र पौडेल यही असोज २ गते भक्तपुर आउन लाग्नुभएको छ । गणेशमान सिंह स्मृती वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिको आमन्त्रणमा सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित गणेशमान वाटिकामा स्थापित गणेशमान सिंहको प्रतिमा अनावरणका लागि राष्ट्रपति पौडेल भक्तपुर आउन लाग्नुभएको हो ।
समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष तथा २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २६ औं स्मृती दिवसको अवसरमा सिंहको प्रतिमा अनावरण गर्न लागिएको समितिका सदस्य एवम् प्रचार प्रसार उपसमितिका संयोजक कविर राणाले बताउनुभयो ।
उहाँका अनुसार सिंहको प्रतिमा १२ फिट अग्लो र एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको हो ।
वि. सं. २०५४ सालमा स्थापना भएको समितिले नेपाल सरकारले उपलब्ध गराएको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको १७४ रोपनी १५ आना जग्गामा वाटिकाको स्थापना गरेको छ । वाटिकामा सिंहको प्रतिमाका साथै पिकनिक स्पट, प्रजातान्त्रिक आन्दोलनका शहिदहरुको जीवनीमा आधारित सामग्रीहरु संग्रह गर्ने संग्रहालय, पुस्तकालय, योगपार्क, चिल्ड्रेन पार्क, भ्यु टावरलगायतको निर्माण भइरहेको राणाले जानकारी दिनुभयो ।
समितिले वाटिकालाई सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागका कथाका अतिरिक्त प्रजातान्त्रिक शहिदहरुको जीवनी र संघर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरुबाट प्रवचन गराउने, छलफल गराउने, त्यसका निष्कर्षहरुलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरुक तुल्याईने थलोको रुपमा विकास गर्दै आएको समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले बताउनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *